News

हेलिकोप्टर दुर्घटना : अध्यक्ष दाहालले भेटे मृतकका परिवारलाई

हेलिकोप्टर दुर्घटना : अध्यक्ष दाहालले भेटे मृतकका परिवारलाई

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएका परिवारजनलाई भेट गरी समवेदना प्रकट गरेका छन्। बिहीबार बिहान दिवंगत पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको बुबा, आमा र श्रीमतीलाई मन्त्री निवास हरिहरभवनमा भेट गरेर समवेदना प्रकट गरेका हुन्।

त्यसैगरी व्यवसायी आङछिरिङ शेर्पा, नेपाल उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ, नेपाल सरकारका उपसचिव युवराज दाहालको परिवारजनलाई भेटी हार्दिक समवेदना प्रकट गरेको प्रचण्डको निजी सचिवालयले जनाएको छ।

काठमाडौंबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौं फर्किने क्रममा बुधबार दिउँसो ताप्लेजुङको दारेभीरमा दुर्घटनामा परेको थियो। 

दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, नागरिक उड्डयन प्राधिकरण (क्यान)का नायव महाप्रबन्धक विरेन्द्र श्रेष्ठ, मन्त्रीका अंगरक्षक अर्जुन घिमिरे, क्यानका ध्रुब भोचिभैया र हेलिकप्टर चालक क्याप्टेन प्रभाकर केसीको निधन भएको हो।

 

मृतक सबैको शव अहिले काठमाडौं ल्याउने तयारी भइरहेको छ। दुर्घटनास्थलबाट सुकेटार विमानस्थलमा पुर्‍याइएका शव हेलिकोप्टरबाट काठमाडौं ल्याउन लागिएको भएपति शव ल्याउन समय लाग्ने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज पोखरेले जानकारी दिए। शवको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिने पर्यटन मन्त्रालयका सूचना अधिकारी सुरेश आचार्यले बताए।

पुष्पकमल दाहाल 'प्रचण्ड' हेलिकोप्टर दुर्घटना

विशेष