News

कस्तो छ डा केसीको अवस्था ?

कस्तो छ डा केसीको अवस्था ?

काठमाडौं । आफूसँग भएको सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्ने माग राख्दै १६ औं पटकसम्म अनशन बसेका डा. गोविन्द केसीको आइसियुमा उपचार हुँदैछ। उनले शुक्रबार २४ दिनको अनशन स्थगित गरेका थिए।

 

उपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालका डा. प्रमेश श्रेष्ठले डा. केसीको अवस्था सामान्य हुँदै गएको बताए। उनल भने, ‘भोली उहाँलाई आइसियुमा राख्ने की जनरल वार्डमा राखेर उपचार गर्ने निर्णय गर्दछौं। यसका लागि भोली उहाँको स्वास्थ्य परीक्षणबाट रिपोर्ट आएपछि हामी सल्लाह गरेर निर्णयमा पुग्छौं।

 

अनशन स्थगित गरेसँगै उनको उपचार थालिएको थियो। ‘उहाँको मुटुको चाल स्टेवल छ। रगतमा नुनको मात्रा कम छ’, डाक्टर श्रेष्ठले भने, ‘विस्तारै खाना खान थाल्नु भएको छ। केहि समय उहाँलाई अस्पतालमै राखेर उपचार गर्नुपर्छ।'

 

डा. केसीको मागविपरीत संघीय संसद्ले चिकित्सा शिक्षा विधेयक पास गरीसकेको छ। शुक्रवार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको उपस्थितिमा उनले अनशन फिर्ता लिएका थिए। सरकारले केसीको मागलाई बेवास्ता गरेकाले स्वास्थ्यलाई ध्यानमा राखेर अनशन फिर्ता लिन विभिन्न व्यक्तित्वहरूले उनलाई आग्रह गरेका थिए। उनिहरुको आग्रहमा केसीले अनशन फिर्ता लिने निर्णय गरेको उनका सहयोगी डाक्टर अभिषेक सिंहले बताए।

 

यसैबीच डा. केसीको माग र स्वास्थ्यमा सरकार गम्भीर नभएको भन्दै यसअघि तीन वटा संस्थानका आवासीय चिकित्सकहरुले गत माघ ११ गतेदेखि गर्दै आएका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु समेत फिर्ता लिएको जानकारी दिएका छन्। त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीले आन्दोलन फिर्ता लिएका हुन्।

प्राडा गोविन्द केसी चिकित्सा शिक्षा विधेयक

विशेष