News प्रदेश ७

समाजको डरले छाउगोठमा बस्न बाध्य

समाजको डरले छाउगोठमा बस्न बाध्य

डोटी । साँघुरो झुपडीमा छाउगोठ । जस्तापाताले छाएको निहुरिएर छिर्नुपर्ने । गोठभित्र तीनवटा मात्र काठका फ्ल्याक बिछ्याइएका । पूर्वीचौकी गाउँपालिका ५ बोगटीगाउँकी मैना बोगटी गत साउनमा महिनावारी हुँदा त्यही गोठमा छिरिन् । उनी कक्षा ७ मा पढ्छिन् ।
 

पहिलोपटक घरको न्यानो ओछ्यान छाडेर छाउपडी सर्दा अतालिएको दुखेसो गर्छिन् । ‘खुट्टा पनि तन्काउन नमिल्ने, होचो झुपडी भएकाले उभिन ठाउँ नपुग्ने,’ छाउ बार्दाको पीडा सुनाउँदै भनिन्, ‘साउनयता प्रत्येक महिनाका ६ दिन त्यही गोठभित्र दुःखका दिन बित्ने गरेका छन् ।’

 

छाउगोठमा बस्नु आफूहरूको रहर नभएर बाध्यता भएको चन्द्रा बोगटीले बताइनन् । जाडोयाममा कठ्यांग्रिँदो चिसो र गर्मीमा हपहपी गर्मी सहेर गोठमै बस्नुपर्ने उनी सुनाउँछिन् । ‘तेडी, नर्‍याल, मालिका देवता छन्, घरभित्र पसे अनिष्ट हुन्छ रे,’ चन्द्राले भनिन्, ‘हामीलाई त्यो सब अन्धविश्वास हो भन्ने थाहा भएर पनि समाजको डरले छाउगोठ बस्नै पर्छ ।’

 

बोगटीगाउँको बाहुनटोलमा ६ परिवार छन् । ६ मध्ये चार परिवारका महिला त्यही छाउगोठमा सुत्छन् । कहिलेकाहीँ नन्द–भाउजू, आमा–छोरी सँगै महिनावारी हुँदा त्यही गोठमा रात काट्नुपर्ने ३८ वर्षीया दुर्गा बोगटीले बताइन् । ‘४-५ जना सँगै महिनावारी हुँदा पनि छाउगोठमै बस्नुपर्छ,’ दुर्गा सुनाउँछिन्, ‘एकजना पनि राम्रोसँग नअट्ने गोठमा ५ जना कसरी सुत्नु, कुप्रो बसेर रात काट्नुको विकल्प छैन ।’ यस्ता छाउगोठ डोटीमा पूर्णरूपले अझै हटेका छैनन् ।

 

विकट क्षेत्रमा यथावत् छ । पूर्वीचौकी गाउँपालिकाको गाँजरी, पोखरी, काँडामाडौं, गैरागाउँमा महिला छाउगोठमै बस्ने गर्छन् । सदरमुकाम सिलगढीमा समेत अझै महिनावारी हुँदा बार्ने महिला छन् । सन् २००९ बाट सेभ द चिल्ड्रेनको सहयोगमा महिला विकास कार्यालयले छाउपडी प्रथा उन्मूलन कार्यक्रम काँडामाडौंमा सञ्चालन गरेको थियो ।

 

विगतभन्दा केही सुधार आए पनि छाउपडी प्रथाबाट महिलाले ज्यान गुमाउने घटना हुनु दुस्खद् भएको तत्कालीन महिला विकास कार्यालयमा कार्यरत सानुमाया लिम्बूले बताइन् । महिला विकास कार्यालयले काँडामाडौं र गैरागाउँलाई ६ वर्षअघिछाउगोठ मुक्त घोषणा गरेको थियो । अझै सुधार हुन नसकेको नारी जागरण केन्द्रकी अध्यक्षपार्वती चन्दले सुनाइन् ।

 

सोही अभियानमा खटिएकी महिला हुन्, ५७ वर्षीया लक्ष्मी बोगटी । छाउपडी प्रथाविरुद्ध नाराबाजी लगाएर उनले नै अभियानको नेतृत्व सम्हालेकी थिइन् । कतिपय छाउगोठ पनि भत्काए । तर गत बिहीबार उनकै कान्छी बुहारीको छाउ बस्दा मृत्यु भयो ।

 

साँघुरो कोठामा आगोको धूवाँले निस्सासिएर मृत फेला परेकी पार्वती बोगटीका कारण पनि त्यही छाउगोठ हो । उनी गत शनिबार महिनावारी हुँदा छाउगोठमा पहिल्यैबाट तीन महिला थिए । पार्वती पनि थपिँदा चारजना हुन्थे । कुप्रो बस्न पनि ठाउँ नपुग्ने भएपछि लक्ष्मीकी बुहारी पार्वती महिनावारी बार्न छाउगोठ छाडेर पहिलोपटक जेठानीको खाली घरमा एक्लै सुत्न गएकी थिइन् ।
  

विगतका तुलनामा छाउगोठ नभई घरभित्रकै भुइँतलाको कोठामा सुत्ने महिला बढी भएको पूर्वीचौकी गाउँपालिका अध्यक्ष दीर्घ बोगटीले बताए । गाउँपालिकाले विगतमा पनि छाउपडी प्रथाबारे अभियान चलाए पनि प्रभावकारी नदेखिएको स्वीकार्दै अध्यक्ष बोगटीले अब कार्यपालिकाको बैठकबाटै निर्णय गरी छाउगोठ हटाउने प्रतिबद्धता गरे । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

छाउगोठ डोटी

विशेष