News

विद्यासुन्दर जताजता पाइला राख्छन्, उतै लफडा

विद्यासुन्दर जताजता पाइला राख्छन्, उतै लफडा

काठमाडौं । सबैभन्दा पुरानो महानगर, सबैभन्दा विवादित मेयर पनि काठमाडौंकै । विद्यासुन्दर शाक्य जता पाइला राख्छन्, उतै लफडा हुन्छ । सम्पदा संरक्षण अभियन्तामाझ ‘भिलेन’ को छवि रहेछ उनको । काष्ठमण्डपबाट सुरु शाक्यको अनुदान र सम्पदावैरी नीति बागदरबारदेखि रानीपोखरीसम्म छताछुल्ल भयो । वसन्तपुर दरबार क्षेत्रभित्र महर्जन बिजनेस कम्प्लेक्सको अनधिकृत रुपमा नक्सा पास गरेपछि त शाक्यविरुद्ध सम्पदाप्रेमी आगो भए । तर यी गुनासाको मेयरलाई केही वास्तै छैन् । गैरउत्तरदायी भावमा भनिदिन्छन्, ‘अभियन्ता र विज्ञको कामै विरोध गर्ने मात्र हो ।’

 

अब यथार्थ नियालौं । सम्पदाप्रेमी हुँदैनथे भने प्रताव मल्लकालीन रानीपोखरी कंक्रिटले ढाकिन्थ्यो, भीमसेन थापाले बनाएको बागदरबार नास भइसक्थ्यो । वसन्तपुरको स्वरुप बिग्रदैनथ्यो मात्र, वरपरका मूर्त÷अमूर्त सम्पदा नष्ट हुन्थे । तर, मेयरले साथ दिएको भए स्थानीयकै अमानतमा काष्ठमण्डप निर्माण हुन्थ्यो । धरहरा मासिएर कंक्रिटयुक्त भ्युटावर बनाउने योजना बन्दैनथ्यो । स्थानीय भूकम्पले क्षतिग्रस्त सम्पदालाई पुरानै स्वरुपमा फर्काएर मौलिकता जोगाउन मरिहत्ते गर्दैछन्, मेयरसाबको दिलचस्पीचाहिँ कंक्रिट र ठेकापट्टातिर ज्यादा छ ।

 

यहीबीच महानगरले नयाँ भवन मापदण्ड ल्यायो । संकृति मन्त्रालय, पुरातत्व विभाग र काठमाडौं उपत्यका विकास प्राधिकरणले सम्पदा क्षेत्रमा लागू नगर्न कडा निर्देशन दिए । तर मेयरसाबको सुध्रने छाँटकाँट छैन् । उनको रटान छ, ‘कसैले कुरै बुझ्दैनन् ।’
यो टिप्पणी नेपाल साप्ताहिकबाट लिएका हौं । 
 

विशेष