कांग्रेस आफ्नै आन्दोलनको ज्वालामा, उद्देश्यविहीन आन्दोलन गरेको भन्दै पार्टी भित्रै चुलियो विवाद
‘कांग्रेस केन्द्रीय समितिका सबै सदस्यले विवेक गुमाए’
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सरकारबिरुद्ध आन्दोलनमा छ । माघ २१ गते त उसले देशका ७७ वटै जिल्लामा प्रदर्शन गर्यो । कांग्रेसले कुनै हठातमा नभई लामो छलफलपछि सरकारबिरुद्ध सडक र सदनबाटै आन्दोलन उठाउने निर्णय गरेको हो । सरकारले लोकतन्त्र मास्न खोजेको कांग्रेसको मुख्य आरोप छ । तर, कांग्रेसभित्रै यो आन्दोलनका बिषयमा ब्यापक असन्तुष्टि चुलिएको छ ।
कांग्रेसले के उद्देश्यले आन्दोलन थालेको हो ? आन्दोलनको गन्तव्य र लक्ष्य के हो ? आन्दोलनका प्रक्रिया र चरण के के हुन् ? के कांग्रेसले सरकार ढाल्न खोजेको हो ? कांग्रेसले आन्दोलनबाट निर्वाचित सरकार ढाल्न सक्छ ?
अहिलेसम्म यी प्रश्नको उत्तर न कांग्रेस नेतृत्वले दिएको छ न त आन्दोलनको निर्णय गर्ने केन्द्रीय समितिले नै स्पष्ट गरेको छ । गन्तव्य र लक्ष्यबिनाको आन्दोलनले के परिणाम ल्याउँछ ? जनतामा जाने सन्देश के हो ? यी कुनैपनि बिषयमा समीक्षा नै नभइ हचुवाका भरमा आन्दोलनमा जानु गम्भीर भूल भएको बताउँछन् कांग्रेस नेता विनयध्वज चन्द ।
कांग्रेसमा गिरिजाप्रसाद कोइरालाको निधनपछि पार्टीको विवेक नै शून्य भैसकेको चन्दको बुझाइ छ । फरक बिचारधारा राख्नेहरुलाई सिध्याउने र धन मात्र कमाउने एकमात्र उद्देश्य अहिलेका कांग्रेस नेताहरुका देखिएको उनको आरोप छ ।
सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत केन्द्रीय समितिका लगभग सबै जसो नेताहरुमा राष्ट्रियता नै नभएको उनी बताउँछन् । कांग्रेसले राजनीतिक दर्शन र बिचार दिन नसक्नुमा नेताहरुकै लोभीपापी चरित्र भएको उनको ठम्याइ छ । आफू र आफनो भजन गाउनेहरुलाई सधैंभरी शक्तिमा राख्ने, राज्यश्रोतको दोहन कसरी गर्ने तथा बिदेशीसंग पैसाकै लागि साँठगाँठ कसरी गर्ने भन्नेमा मात्रै उनीहरुको ध्यान रहेको चन्द बताउँछन् ।
नेता चन्द भन्छन,–‘ कांग्रेसका मात्र होइन, प्रायः ठूला दलका सबै शीर्ष भनिने नेताहरुले मुलुकलाई धर्मनिरपेक्ष बनाउन क्रिश्चिनहरुसंग पैसा खाएका छन् । ’
‘बिदेशीको पैसा खाएर शक्तिमा बसेकाहरुले आफना जनताको हीत गर्छन कि बिदेशीको ? ’ चन्दको प्रश्न छ ।
कांग्रेसका सांसद्हरुले संसदमासमेत हास्यास्पद भूमिका निर्वाह गरिरहेकोमा चन्द आश्चार्यचकित छन् । सांसद्हरुमा गाम्भीर्यता नै देखिएन ।
मुलुकका गम्भीर मुद्दामा छलफल गरी गम्भीररुपमा प्रस्तुत भइ सोही अनुसार भूमिका निर्वाह गर्नुपर्नेमा ठट्टा गर्ने ठाउँ बनाएको उनको आरोप छ । केही दिन सभामुख महराको भूमिकालाई लिएर प्रश्न उठाए । संसद् अवरुद्ध गरे । तर, अहिले कसैलाई केही जवाफ नै नदिई कांग्रेसले संसद् चलाएको छ । ‘सभामुखका बिषयमा उठाएको प्रश्न कता हरायो ? ’ चन्दको प्रश्न छ ।
मुलुकका प्रमुख राष्ट्रिय मुद्दा, मुलुकले लिनुपर्ने बाटो, लोकतान्त्रिक मूल्य मान्यता, जनतासंग प्रत्यक्ष जोडिएका बिषयवस्तुमा कांग्रेसले आवाज उठाउन नसक्नुको कारण यसका अधिकांश नेताहरु कहिं न कहिं साँठगाँठमा मुछिनु रहेको उनको दाबी छ ।
उनी भन्छन्–‘वाइडबडीको बिषय संसद्मा किन उठाएन ? ’
‘कांग्रेस जति खराब भएपनि कांग्रेसको विकल्प कांग्रेस नै भएको उनको भनाइ छ– कांग्रेसका नेता मात्र खराब हुन्, पार्टी होइन । ’
‘कांग्रेसका नेता भन्दा बर्तमान नेकपामा नेता झन खराब, भ्रष्ट र राष्ट्रघाती भए । हेर्नुहोस न भेनेजुएलाको बिषयमा अमेरिकासंग निहुँ खोजेको, यहींबाट थाहा हुन्छ, यीनीहरु कसको रिमोटबाट चलेका छन् । ’
मुलुकलाई जोगाउने हो भने बैदिक सनातन धर्म र संघीयताको खारेजी हुनुपर्ने नेता चन्दको राय छ । मुलुकका अधिकांश नेताहरु यसको पक्षधर भएपनि क्रिश्चिनहरुको पैसा खाएकाले बोल्न नसकिरहेको मात्र हो उनी भन्छन् । प्रमुख प्रतिपक्षी दलकारुपमा बलियो हुन कांग्रेसले मुद्दाहरुको प्राथमिकिकरण गरी त्यसबारे ठोस धारणा तय गरेर मात्रै कदम चाल्नुपर्छ ।
संसद्मा गगन थापा र मिनेन्द्र रिजाल तथा सडकमा नैनसिंह महर र जितजंग बस्नेतले बोलेका हिसाबमा मात्रै कांग्रेस चल्ने हो भने कांग्रेस आफैले थालेको आन्दोलनको आगोमा जलेर भष्म हुनेछ, त्यो बेला स्वर्गबाट बीपी, कृष्णप्रसाद, गणेशमान, शैलजा, गिरिजाप्रसाद तथा सुशील कोइरालाले पनि आँशु बगाउन सिवाय केही गर्न सक्ने छैनन् ।