News

ढिलो आउने शिक्षकलाई विद्यार्थीले नै घर फर्काए

ढिलो आउने शिक्षकलाई विद्यार्थीले नै घर फर्काए

मोरङ । जहदा गाउँपालिका–१ स्थित जनता बाल आधारभूत विद्यालयकी शिक्षिका दुर्गावती राजवंशी सोमबार १० बजेर ५ मिनेटमा विद्यालय पुगिन् । मूलढोकामा बसेका कक्षा ७ का दुर्गी ऋषिदेव र चन्द्रिकाकुमारी सरबरियाले उनलाई सोधे, ‘मिस तपाईंको घडीमा कति बज्यो ?’ घडी हेरेर शिक्षिकाले जवाफ फर्काइन्, ‘आउँदाआउँदै ५ मिनेट ढिला भएछ ।’

 

दुवै छात्राले भने, ‘आज तपाईं घर फर्कनुस्, भोलिदेखि १० बजेभित्र आइपुग्नुस् ।’ घरबाट हिँडदा ढिला भएको भन्दै मनाउन खोजिन् तर विद्यार्थी मानेनन् । ‘आउँदाआउँदै ढिलो भइहाल्यो, आज घर फर्कन्छु, भोलिदेखि समयमै विद्यालय आइपुग्छु,’ शिक्षिका राजवंशीले भनिन्, ‘आफैंले बनाएको नियम हो, पालना नगरी सुखै छैन ।’

 

यसअघि शिक्षिकाद्वय मनमाया गुरुङ र पूजा मण्डललाई पनि विद्यार्थीले ढोकैबाट फर्काएका थिए । शिक्षक–शिक्षिका मात्र होइन, विद्यार्थीलाई पनि ढिलो आए घर फर्काउने नियमै बनाइएको छ । यो नियम सबैले सहज रूपमा मान्दै आएका छन् । १० बजेर ढिलो भइसकेपछि विद्यालय पुग्ने ६० जना विद्यार्थीलाई पनि सहपाठीले फर्काइसकेको प्राचार्य वीरेन्द्रप्रसाद मण्डलले बताए । विद्यालयको शैक्षिक गुणस्तर सुधार अभियानसहित शिक्षक र विद्यार्थी समयमा विद्यालय नआउने र आए पनि लगत्तै हिँडिहाल्ने प्रवृत्ति रोक्न दुई महिनादेखि १० बजेर एक मिनेटपछि भए पनि शिक्षक–विद्यार्थीलाई फर्काउने नियम लागू गरिएको प्राचार्य मण्डलले बताए ।

 

हरेक दिन १० बज्न ५ मिनेट बाँकी रहँदा कक्षा ७ र ८ का विद्यार्थी मूलढोकामा बस्छन् । घण्टी लागेपछि आइपुग्ने शिक्षक र विद्यार्थीलाई उनीहरूले फर्काइदिन्छन् । विद्यालयमा ३ सय ६५ जना अध्ययनरत छन् । तीमध्ये २ सय ५८ जना दलित सरबरिया समुदायका छन् । करिब ८० प्रतिशत बालबालिका नियमित विद्यालय जाने गरेको विद्यालयको अभिलेख छ । ‘नियम लागू भएपछि शिक्षक र विद्यार्थी ढिलो आउने र दिउँसै घर फर्कने रोग निवारणजस्तै भएको छ,’ प्राचार्य मण्डलले भने, ‘ढिलो आउने गेटबाटै घर फर्कन्छन्, समयमा आउने पनि ४ बजेअगाडि निस्कन पाउँदैनन् ।’ यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

विद्यार्थी मोरङ शिक्षक

विशेष