News

मेयर र वडाअध्यले नै गर्छन् विद्युत् चोरी

मेयर र वडाअध्यले नै गर्छन् विद्युत् चोरी

रौतहट । रौतहटको गढीमाई नगरपालिकाका मेयर र वडाध्यक्ष नै विद्युत् चोरीमा संलग्न रहेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणको विद्युत् चुहावट नियन्त्रण महाशाखा काठमाडौंबाट खटिएको टोलीले  मेयर श्यामप्रसाद यादव (ग्राहक नं ००८.१३.०१), वडा नम्बर ६ का अध्यक्ष रामसिंघासन यादव (ग्राहक नं ०७.२०.०३ ए) र गरुडा नगरपालिका–१ का वडाध्यक्ष सरोज राय यादव (ग्राहक नं १८.०८.१९)ले आफ्नो घरमा विद्युत् चोरी गरी प्रयोग गरेको फेला पारेको हो ।

 

गौर क्षेत्रमा विद्युत् चोरी अत्यधिक रहेको गुनासो आएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महाशाखाका इन्जिनियर प्रदीपकुमार शर्माको नेतृत्वमा छड्के जाँच टोली खटाएका थिए । जनताबाट निर्वाचित मेयर र वडाध्यक्ष नै विद्युत् चोरीमा संलग्न हुनु दुर्भाग्यपूर्ण रहेको घिसिङले बताए ।टोलीले १४ माघदेखि २० सम्म रौतहटमा गरेको छड्के जाँचका क्रममा गढीमाई नगरपालिकाको  बिनगरमा रहेको दुईवटा घरमा मेयर यादवले हुकिङ गरी विद्युत् प्रयोग गरिरहेको फेला पारेको हो । टोली प्रमुख शर्माले हुकिङ गरेर प्रयोग गरिएको लाइन काटिएको तर सुरक्षाका कारण मेयरको घरमा राखिएको मिटर खोल्न नसकिएको बताए ।

 

‘घरपछाडि रहेको प्राधिकरणको वितरण लाइनबाट हुकिङ गरेर ल्याएको तारबाट एउटा घरमा बिजुली प्रयोग गरिएको रहेछ, त्यसभन्दा अलि पर रहेको अर्को घरमा मिटर छ, त्यहाँबाट पनि चोरी गरेर वत्ती बालिएको घरमा लाइन ल्याइएको छ,’ उनले भने, ‘त्यो घरमा चोरी गरेको र नगरिएको दुवै लाइन जोडिएको रहेछ, हुकिङ काट्यौँ तर चोरीको वत्ती प्रयोग गरिरहेको फेला परेपछि मान्छेको भिड जम्मा भयो, उनीहरूले मिटर खोल्न दिएनन् ।’ तर, मेयरले विद्युत् चोरी गरेको मुचुल्का तयार गरेको र त्यसमा मेयरका भाइ सञ्जीवकुमार यादवले हस्ताक्षर गरेको शर्माले जानकारी दिए । उनले मुचुल्लकाको फाइल गौर शाखालाई दिएर बिगो तथा त्यसमा लाग्ने जरिवानालगायत कानुनी कारबाही गर्न निर्देशन दिइएको बताए । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

नेपाल विद्युत् प्राधिकरण विद्युत चोरी

विशेष