४ हजार किलो सुन तस्करी प्रकरणमा संलग्न थप एक पक्राउ
काठमाडौं, ४ हजार किलो सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणमा जोडिएका हरिशरण खड्का संयुक्त अरब इमिरेटस यूएईमा पक्राउ परेका छन् । नेपाल प्रहरीको आग्रहमा यूएईको प्रहरीले उनलाई पक्राउ गरेको हो । खड्काविरुद्ध इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी भएको थियो । यूएईबाट सुन किनेर नेपाल पठाउन खड्काहितको समूहले भूमिका खेलेको सरकारले गठन गरेको विशेष छानविन समितिको अनुसन्धानले देखाएको थियो । प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो, ‘हरिशण खड्कालाई पक्राउ गरिएको हो, उनलाई नेपाल ल्याउने तयारी भइरहेको छ ।’ वैदेशिक रोजगारीको शिलशिलामा यूएई छिरेका खड्का रेष्टुरेण्ट व्यवसायको आवरणमा त्यहाँ बसेर सुन तस्करी तथा हुन्डीको कारोबारमा संलग्न रहेको दाबी समितिको थियो । उनलाई ‘डिपोर्ट’ गराएर नेपाल ल्याउने तयारी भइरहेको प्रहरी उच्च स्रोतले जनाएको छ ।