News

महाराजगन्ज–टेकु सडकखण्ड : १० किमीमा २ सय ५० खाल्डाखुल्डी

महाराजगन्ज–टेकु सडकखण्ड : १० किमीमा २ सय ५० खाल्डाखुल्डी

काठमाडौं । बिहानको १० बजेको छ । कार्यालय समय भएकाले सडकमा सवारीको चाप थामिनसक्नु छ । महाराजगन्जको मुख्य चोकमा ट्राफिक व्यवस्थापनका लागि खटिएका दुई जवान र एक ट्राफिक हबल्दारलाई भ्याइनभ्याइ छ । जेब्रा क्रसिङमा बाटो काट्ने र सडकका दाँयाबाँयाका फुटपाथमा हिँड्ने प्रत्येक पैदलयात्रीले ‘मास्क’ लगाएर हिँडेका छन् ।

 

मास्क लगाउन छुटेकाहरू पनि उफ् गर्दै हातले हम्केर या त हातले नै मुख छोपेर हिँडेका छन्, मानौं उनीहरू उकुसमुकुस छन् । लाग्छ, मास्क लगााउनु अनिवार्य पालना गर्नैपर्ने नियमभित्र पर्छ । यसैबीचमा सडकका खाल्डाखुल्डीमा घ्याच्चघ्याच्च गर्दै र असन्तुलित हुँदै गुडिरहेका छन् सवारीसाधन र चौतर्फी उडिरहेको छ धुलो । यो अवस्था हो, हजारौं सर्वसाधारण आवतजावत गर्ने तथा उत्तिकै संख्यामा सवारीसाधन हुँइकिने उपत्यकाका सडकको । उपत्यकाका अधिकांश सडकको पछिल्लो अवस्था यस्तै खाल्डाखुल्डीमय छ भने यात्रुहरू जोखिम मोलेरै हिँड्डुल गर्न बाध्य छन् ।

 

आमउपत्यकावासीसँग जोडिएको यसै जनचासो र गुनासोलाई मध्यनजर गर्दै हामीले मंगलबार उपत्यकाका मुख्य सडकअन्तर्गत पर्ने महाराजगन्जदेखि टेकुसम्मको १० किलोमिटर सडकको स्थलगत अनुगमन गरेका थियौं । अनुगमन क्रममा काठमाडौंको अत्यन्तै महत्त्वपूर्ण क्षेत्रका रूपमा रहेका महाराजगन्ज, वसुन्धरा, धापासी, सामाखुसी, गोंगबु चोक, नयाँ बसपार्क, माछापोखरी, बालाजु चोक, नयाँ बजार, सोह्रखुटे, लैनचौर, जमल, त्रिपुरेश्वर हुँदै टेकुसम्मको १० किलोमिटर सडक खण्डमा २५० भन्दा बढी खाल्डाखुल्डी पाइएको छ ।

 

अनुगमनका क्रममा सडकका बीच भागमा रहेका खाल्डाखुल्डी तथा सडकको समग्र अवस्थालाई नियालेका छौं । यस क्रममा अधिकांश सडकको अवस्था जीर्ण पाइएको छ । हामीले राजधानीको मुख्य सडकमध्येमा पर्ने महाराजगन्जदेखि टेकुसम्मको सडकखण्डलाई विभिन्न खण्डमा विभाजन गरी अनुगमन गरेका छौं । यो खबर आजको राजधानीबाट लिइएको हो ।

 

राजधानी सडक खाल्डाखुल्डी

विशेष