News राजनीति

सत्ता र प्रतिपक्ष सांसदको कठघरामा ४ विभागीय मन्त्री, दिने छन् यी आठ प्रश्नको उत्तर

सत्ता र प्रतिपक्ष सांसदको कठघरामा ४ विभागीय मन्त्री, दिने छन् यी आठ प्रश्नको उत्तर

काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा चारजना विभागीय मन्त्रीले सांसद्का प्रश्नमा जवाफ दिँदै छन् । छ महिनादेखि सुल्झन नसकेको निर्मला पन्त हत्या प्रकरण, बालक अपहरणको आरोपमा झक्तपुरका प्रहरी इन्काउन्टरमा परेका अजित तामाङ र गोपाल तामाङ लगायतका विषयमा सांसद्ले प्रश्न दर्ता गराएका छन् ।

 

चारजना विभागीय मन्त्रीहरूले आठवटा प्रश्नमा जवाफ दिनेछन्। सभामुखले अनुमति दिएको अवस्थामा विषय सम्बन्धित अन्य प्रतिप्रश्न पनि सोध्न सक्ने व्यवस्था प्रतिनिधिसभा नियमावलीमा व्यवस्था गरिएको छ । बुधबारको बैठकमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा. युवराज खतिवडा, वन तथा वातावरणमन्त्री शक्ति बस्नेत र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले सांसद्का प्रश्नमा जवाफ दिँदै छन् । गृहमन्त्रीसँग जवाफका लागि चार, अर्थमन्त्रीका लागि दुई र वन तथा वातावरण तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका लागि एकरएक वटा प्रश्न दर्ता भएका छन् ।

 

प्रतिनिधिसभा प्रश्न शाखाका अनुसार गृहमन्त्रीका लागि निर्मला पन्तका हत्यारा पत्ता नलाग्नुको कारण माग गरिएको छ । नेपाली कांग्रेस सांसद् डिला संग्रौलाले प्रश्न दर्ता गरेकी हुन् । भक्तपुरमा भएको इन्काउन्टरका विषयमा कांग्रेसकै देवेन्द्रराज कँडेलले प्रश्न दर्ता गरेका हुन् । यस्तै सांसद्, घनश्याम खतिवडाले मोरङ लेटाङको पानी ट्याङ्कीको विद्यालयमा विषादी मिसाउनेमाथिको कारबाही प्रक्रिया कहाँ पुग्यो भनी प्रश्न गरेका छन् । सांसद् रामबहादुर विष्टले अछाम मंगलसेनका नमराज विष्टका हत्यारा कहिले पत्ता लाग्छन् भनी प्रश्न दर्ता गरेका छन् ।

 

यस्तै, अर्थमन्त्रीका लागि कांग्रेस सांसद् दिलेन्द्रप्रसाद बडुले दार्चुलाका सबै स्थानीय तहमा बैंकका शाखा कहिले पुग्छन् भनी प्रश्न गरेका छन् । बहुराष्ट्रिय कम्पनीले आफ्ना उत्पादन बढी बेचेमा प्रतिनिधिलाई विदेश लैजाने हुँदा मुद्रा सञ्चितीमा नै असर परेको भन्दै रोक्ने कस्ता प्रयास भइरहेका छन् भनी कांग्रेस सांसद् संग्रौलाले अर्थमन्त्रीलाई प्रश्न दर्ता गरेकी छन् ।

 

नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का सांसद् खगराज अधिकारीले पोखरामा प्राणी उद्यान कहिले बन्छ भनी वन तथा वातावरण मन्त्रीका लागि प्रश्न दर्ता गरेका छन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाका लागि एउटा प्रश्न दर्ता भएको हो । सांसद् सरिता न्यौपानेले हिंसा पीडित महिलाका लागि निर्माण हुने भनिएको आवास गृह निर्माण कार्यको जवाफ माग गर्दै मन्त्री थापालाई प्रश्न दर्ता गरिएको छ ।

 

प्रतिनिधिसभामा हालसम्म लिखित जवाफको माग गर्दै २८ प्रश्न दर्ता भएका छन् । कूल २८ मध्ये १६ वटा प्रश्न नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले दर्ता गरेका छन् । यस्तै, मौखिक जवाफका लागि ८८ प्रश्न दर्ता भएकोमा ४३ वटामा जवाफ प्राप्त भइसकेको प्रश्न शाखाले जनाएको छ ।

संघीय संसद सत्ता र प्रतिपक्ष

विशेष