News समाज

थाइल्याण्ड सरकारको सहयोगमा बन्दै महादेव मन्दिर

थाइल्याण्ड सरकारको सहयोगमा बन्दै महादेव मन्दिर

काठमाडौँ । त्रिपुरेश्वरस्थित महादेव मन्दिरको पुनःनिर्माण कार्य २५ प्रतिशत सकिएको छ । विसं १८७५ मा उक्त मन्दिर रानी ललित त्रिपुरासुन्दरीले निर्माण गरेकी हुन् । 

 

मन्दिर निर्माणमा करीब रु २८ करोड निर्माण लागत लाग्ने अनुमान गरिएको छ । थाइल्याण्ड सरकारले रु १७ करोड सहयोग गरिसकेको मन्दिर पुनःनिर्माण समितिका सदस्य सचिव डा लोचन रिजालले जानकारी दिए । 

 

भूकम्पअघि मल्लकालीन शैलीमा निर्माण गरिएको उक्त मन्दिर सोहीअनुरूप नै निर्माण शुरु गरिएको छ । गजुरसहित पाँच तला रहेको उक्त मन्दिर आगामी दिनमा पनि त्यति नै तलाको निर्माण गर्ने योजना छ । शुरुमा मन्दिर निर्माण गर्न कलाकारहरूले ‘कन्सर्ट’ गरेर रु १९ लाख रकम उठाएका थिए । 

 

टिम्बर कर्पोरेशनबाट नयाँ काठ ल्याइएको छ । मन्दिर भत्कनुअघि पहिलेका पुराना काठ २० प्रतिशत काम लाग्ने डा रिजालले जानकारी गराए । रु छ करोडको नयाँ काठ प्रयोग हुनेछ । महादेवको मन्दिरसहित चार वटा सत्तल निर्माण हुनेछ । भूकम्प गएलगत्तै मन्दिरको निर्माण कार्य शुरु गरिएको हो । 

 

निर्माणका लागि गुठी संस्थानसँगको सम्झौता पाँच वर्षको समय रहेको छ । आगामी डेढ वर्षसम्ममा निर्माण कार्य सम्पन्न हुनेछ । भूकम्पअघि नै निर्माण गर्ने अवधारणा ल्याइएको थियो । काठमाडौँ महानगरपालिकाको वडा नं ११ मा पर्ने उक्त मन्दिर निर्माणका लागि कामपाले सहयोग भने केही पनि गरेको छैन । 

 

बाह्र रोपनी क्षेत्रफलमा उक्त मन्दिर निर्माण भइरहेको छ । हाल दैनिक ७५ जना कामदार निर्माण कार्यमा खटिएका छन् । हाल मन्दिरको गजुर निर्माण र अन्य काठको काम काम भइरहेको छ । सम्झौताअनुसार अझै करीब तीन वर्षको समय रहे पनि आगामी डेढ वर्षभित्रमै निर्माणको काम सम्पन्न गरिने काठमाडौँ विश्वविद्यालय सङ्गीत विभागका प्रमुखसमेत रहेका डा रिजालले बताए । 
 

महादेव मन्दिर

विशेष