News समाज

स्याउ बीमक किसानलाई क्षतिपूर्ति

स्याउ बीमक किसानलाई क्षतिपूर्ति

खलङ्गा । मौसममा आधारित स्याउखेतीको बीमा गरेका जुम्लाका किसानले क्षतिपूर्ति पाउँदा खुशी भएका छन् । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड प्रदेश शाखा कार्यालय जुम्लाद्वारा आयोजित दाबी भुक्तानी कार्यक्रममा पीडित किसानलाई क्षतिपूर्ति उपलब्ध गराइएको हो । पाताराशि, गुठीचौर, तातोपानी गाउँपालिका र चन्दननाथ नगरपालिकाका ७१६ जना किसानले क्षतिपूर्ति पाएका हुन् । 

 

मौसमी स्याउ असिना र सुक्खा खडरीले क्षति पुर्याएकाले बीमा गरेका कृषकलाई राहत उपलब्ध गराइएको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड कर्णाली प्रदेश इञ्चार्ज ऋषिराम पाण्डले बताए । एउटा बिरुवाको ४२ रुपैयाँमा बीमा गरेका किसानलाई क्षतिपूर्ति उपलब्ध गराइएको पाण्डेले बताए । वैशाखदेखि चैत १५ सम्म किसानले बीमा गराइसक्नु पर्ने भन्दै उनले मौसमी स्याउ बीमा गरेकामा खडेरी, असिनाले असर पारेपछि क्षतिपूर्ति उपलब्ध गराउँदै आएको उनको भनाइ छ । 

 

मौसम सूचकाङ्कका आधारमा जुम्लामा स्याउ किसानले बीमा रकमको भुक्तानी पाएका हुन् । स्याउको बीमासँगै जीवन बीमा पनि गर्न थालिएको एक सय रुपैयाँले एक लाख रुपैयाँसम्मको बीमा गर्न सकिने पाण्डेले बताए । 

 

स्याउ बगैँचामा काम गर्न जाँदा चोटपटक लागेमा ७५ प्रतिशत र मृत्यु भएमा एक लाख रुपैयाँ दिने नीति शिखरले ल्याएको उनले जानकारी गराए । खरानीको अवस्था हरेर ६० मिलिलिटरभन्दा कम पानी परेमा किसानले क्षतिपूर्ति नपाउने भन्दै उनले त्योभन्दा कम पानी परेमा प्रतिबिरुवा रु दुई हजारका दरले क्षतिपूर्ति उपलब्ध गराउँदै आएको बताए । 

 

यस वर्ष चन्दननाथ नगरपालिका, तातोपानी, गुठीचौर र सिञ्जा गाउँपालिकामा ७० प्रतिशतको दरले क्षतिपूर्ति दिएको छ भने पातारासी गाउँपालिकामा सबैभन्दा बढी असिनाले क्षति गरेकाले त्यहाँका किसानलाई ९० प्रतिशत क्षतिपूर्ति स्याउ किसानलाई दिएको पाण्डेले बताए । फागुन महीनाको पहिलो हप्तासम्म बीमा गरेका सबै किसानलाई क्षतिपूर्ति रकम उपलब्ध गराएको छ । कार्यक्रमस्थलमै क्षतिपूर्तिको चेक पाउँदा किसान खुशी भएका छन् । 

 

स्याउको बीमा गर्दा एक बोट बराबर रु ४२ तिर्न हामी निकै तर्सिएका थियौँ, तर आज क्षतिपूर्ति पाउनु हाम्रा लागि निकै खुशीको कुरा भएको किसान देवी सेजुवालले बताए । उनले एक लाख २६ हजार बराबरको क्षतिपूर्ति पाएका छन् । जुम्लाका स्याउ किसानलाई बीमा कम्पनीद्वारा क्षतिपूर्ति प्रदान हुनुले धेरै राहत मिलेको उनले बताए । 

 

चन्दननाथ नगरपालिका जुम्लाका प्रमुख कान्तिका सेजुवालले स्याउखेतीबाट क्षति बेहोर्नुपरेका किसानलाई राहत पुगेको बताए । किसानलाई उनले बीमा गर्न आग्रह गरेका छन् । स्याउखेती गरेका किसानलाई पानी र सिँचाइमा ध्यान दिनुपर्ने सेजुवालको सुझाव छ । 

 

वरिष्ठ किसान रामकृष्ण बुढ्थापाले स्याउ बीमा गरेका किसानले रकम पाउनुमा किसानलाई बीमाप्रति राम्रो सोच रहेको र काम गर्न थप हौसला प्रदान भएको बताए । किसानलाई उत्साहित गर्ने काम शिखरले गरेको भन्दै उनले आफ्नो स्याउ फारमलाई अझै विस्तार गरी सबै बिरुवाको बीमा गरिने बताए । 
 

बीमक किसानलाई क्षतिपूर्ति

विशेष