अनुमतिबिना सिसी क्यामरा जडान
बाँके । बाँकेको नेपालगञ्ज लगायतका क्षेत्रमा २०० बढी स्थानमा सिसी क्यामरा जडान भएका छन् । अधिकांश क्यामरा जिल्ला प्रशासन कार्यालयको अनुमतिबिनै जडान भएको पाइएको छ ।
सरकारी, गैरसरकारी र निजी संस्था तथा निवासमा जडान गरिएका यस्ता सिसी क्यामराको जिल्ला प्रशासनसँग एकिन विवरण नै छैन ।
नेपालगञ्जको सुर्खेतरोडमा मात्रै ५६ वटा सिसी क्यामरा जडान गरिएको छ । यीमध्ये अधिकांश सिसी क्यामरा कानून विपरीत अनुमतिबिना जडान भएका छन् । बाँकेमा ३८ वटा संस्थाले मात्र सिसी क्यामरा राख्न अनुमति लिएका छन् ।
सडकमा मात्रै नभइ नेपालगञ्ज र कोहलपुर क्षेत्रमा सञ्चालन भइरहेको सामान्यदेखि उच्चस्तरका होटलले समेत अनुमतिबिनै सिसी क्यामरा जडान गरेको जिल्ला प्रशासन कार्यालय बाँकेले बताएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार नेपालगञ्जमा रहेका ठूला होटल स्नेहा, सिद्धार्थ र सोल्टी होटलमा जडान गरिएका सिसी क्यामरा प्रशासनको अनुमतिबिना जडान गरिएको पाइएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी मोहन अर्यालले बताए।
सहायक प्रजिअ अर्यालका जानकारी अनुसार नेपालगञ्जको किचन हटले भने सरकारी मापदण्ड र प्रशासनको अनुमति लिएरै सिसी क्यामरा जडान गरेको छ ।