News

चोलेन्द्रको एक्सनः उच्च अदालत विराटनगरका न्यायाधीशहरूको मुटुमा ढ्यांग्रो

चोलेन्द्रको एक्सनः उच्च अदालत विराटनगरका न्यायाधीशहरूको मुटुमा ढ्यांग्रो

काठमाडौं । एकपछि अर्को गर्दै सुन तस्करीमा मुछिएकाहरुलाई मुक्त गर्न आदेश दिने न्यायाधीशरुलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्याय परिषदको कठघरामा तान्न थालेपछि त्यसको प्रभाव पर्न थालेको छ । ३८ सय केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका अभियुक्तहरुलाई मुक्त गर्न आदेश दिने उच्च अदालत विराटनगरले यु टर्न लिएको छ ।

 

माघ २४ मा उच्च अदालतले सो मुद्दाका क्रममा थुनामा रहेका ११ जनालाई रिहा गर्न अस्वीकार गरेको छ । जबकी  यसअघि १२ जनालाई रिहा गर्न यहि अदालतले पहिले आदेश दिएको थियो । सोही मुद्दाका बाँकीलाई भने रिहा गर्न उच्च अदालतका न्यायाधीशहरु हच्केका छन् । न्यायाधीश शिवराज अधिकारी र लेखनाथ घिमिरेको इजलासले रिहा गर्ने आदेश दिन सकेनन् । 

 

सुन तस्करीका लगानीकर्ता भुजुङ गुरुङ एवं आरोपीहरु कपिलराज पुरी, दोराम खत्री, राजेन्द्र मर्हजन, श्री एवल नेपाल ट्राभल्स एण्ड टुर्स प्रालि र कान्तिपुर होलिडेज प्रालिका ठाकुरप्रसाद ढुङगाना, फाल्दुङ्ग फुल्टुङ्ग भन्ने लक्षुबहादुर गुरुङ, रेवतकुमार आचार्य, वीरेन्द्रमान श्रेष्ठ, बेनु श्रेष्ठ, डा डेविट भन्ने छिरिङ बाग्ले र बालादाई भन्ने बालकृष्ण खड्काको निवेदनमा सुनुवाई गर्दै जिल्ला अदालत मोरङको आदेश सदर गरेको हो। उच्चले अवु सलाम खान भन्ने शैयद अकबर, डब्बु भन्ने इम्तियाज उद्दिनलाई १० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

 

उच्च अदालत विराटनगरको अघिल्लो फैसलाले सुन तस्करीका मुख्य लगानीकर्ताहरु भने मुक्त भइसकेका छन् । तथ्य र प्रमाण नहेरी अभियुक्त मुक्त गरेको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्यायाधीश ईश्वरप्रसाद खतिवडाको नेतृत्वमा छानविन समिति गठन गरेका थिए । समितिले गरेको सिफारिस बमोजिम उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेलसहित ६ जना न्यायाधीश अहिले काठमाडौं तानिएका छन् ।

 

भुर्तेल नेतृत्वको उच्च अदालतले पूर्वडीआइजी गोबिन्द निरौला, एसपी बिकाशराज खनाल, डीएसपी प्रजित केसी, गोरेका सहयोगी रामकुमार तिवारी, एसएसपी दिबेश लोहनी, सञ्जय खेतान भन्ने प्रभात अग्रवाल र मदन सिलवाल धरौटी र साधारण तारेखमा रिहा भएका थिए । यसैगरी राजकुमार दारुका, माधव मदनप्रसाद घिमिरे, बालकृष्ण सञ्जेल तथा आर के भन्ने राजेन्द्रकुमार शाक्य र बिनोद पोद्दार छुटेका थिए ।

चोलेन्द्रशमशेर राणा

विशेष