अनुमतिबिना जन्माएको भन्दै आफ्नै आमाबाबुमाथि मुद्दा !
एजेन्सी । भारतमा एक २७ वर्षीय युवकले आफूलाई किन जन्माएको भन्दै आफ्ना आमा बुबा विरुद्ध मुद्दा दायर गर्ने तयारी थालेका छन् । मुम्बईका व्यवसायी राफेल सामुयलले जीवनभरका लागि विभिन्न दुःख कष्ट झेल्नुपर्ने भएकाले आफ्ना आमा बुबा विरुद्ध मुद्दा दायर गर्ने तयारी गरेका हुन् ।
उनी अनुमतिबिना आफूलाई जन्माएको भन्दै आमाबुबासँग रुष्ट छन् । ‘हामीले आफूलाई जन्माउनका लागि कसैसँग आग्रह नगरेकाले बाँकी जीवन बाँच्नका लागि क्षतिपूर्तिस्वरुप केही रकम दिनैपर्छ,’ उनले भने । सामुयलले आफ्ना आमाबुवालाई निकै माया गर्ने तर उनीहरूले आफ्नो स्वार्थको लागि आफूलाई जन्म दिएको उनको दाबी छ । उनले भने, ‘मेरा आफ्ना आमाबुवासँग निकै राम्रो सम्बन्ध छ । म उनीहरूलाई निकै माया गर्छु । तर उनीहरूले आफ्नो स्वार्थका लागि मलाई जन्माए ।’ उनका आमाबुबा दुवै वकिल हुन् ।
उनले आफू व्यवसायमा संलग्न भएको र जीवनयापन सहजरुपमा चलिरहेको बताए । ‘तर बच्चा जन्माउनु भनेको एक प्रकारको दासता हो,’ उनले भने, ‘म एक जीवनलाई किन विद्यालय, अध्ययन, व्यापार, काम, करियर, आदिको झमेलामा फसाऊँ ?, उनी भन्छन् । उनकी आमा कभिता कर्नाड सामुयलले विज्ञप्तिमार्फत छोरा असहमतिप्रति प्रतिक्रिया जनाएकी छन् । उनले भनेकी छन्, ‘आफ्ना वकिल आमाबुबालाई अदालतमा लैजाने मेरो छोराको निर्णयको म प्रशंसा गर्छु । यदि उसलाई जन्माउनुपूर्व सहमति लिन सम्भव थियो भन्ने तर्कसंगत व्याख्यासहित आए म गल्ती स्विकार्न तयार छु ।’
सामुयल ‘एन्टी नटालिजम’ दर्शनमा विश्वास गर्छन् । उक्त दर्शनका अनुयायीहरू जीवन पूर्णरुपमा पीडामय हुने भएकाले जन्मको विपक्षमा हुन्छन् । ‘एन्टी नटालिजम’ अनुसार कसैलाई जन्माउनु भनेको उसको इच्छा विपरीत दुखद जिन्दगी उसको टाउकोमा थोपर्नु हो । उक्त दर्शनमा संलग्न मानिसहरू आफ्ना आमाबुबासँग ‘मलाई किन जन्माएको ?’ भनेर सोध्नुपर्ने बताउँछन् । उनले आफू ५ वर्षको हुँदा ‘एन्टी नटालिजम’ दर्शन दिमागमा आएको बताउँछन् ।