News प्रवास

म्यानमार हुँदै इराक लैजाँदै गरिएका १७९ नेपालीको उद्धार

म्यानमार हुँदै इराक लैजाँदै गरिएका १७९ नेपालीको उद्धार

नयाँदिल्ली । वैदेशिक रोजगारीको प्रलोभन दिएर इराकलगायतका मुलुक पठाइदिने भन्दै भारतको उत्तरपूर्वी राज्य मणिपुर पुर्‍याइएका १७९ नेपालीको उद्धारपछि नेपाल फर्काउने प्रक्रिया सुरु भएको छ । मणिपुर इम्फाल प्रहरीसँगको समन्वयमा नयाँदिल्लीस्ति नेपाली दूतावासले तिनीहरूको उद्धार गरेको हो । उद्धारपछि उनीहरूलाई मणिपुरकै विभिन्न आठवटा आश्रय केन्द्रमा राखिएको छ । उनीहरूमध्ये १ सय ४७ महिला र ३२ पुरुष छन् । उनीहरूको उमेर १७ देखि ५० वर्ष छ ।

 

दूतावासले उनीहरूलाई प्रक्रिया पूरा गरेर नेपाल फर्काउनका लागि काउन्सिलर प्रकाश अधिकारीको नेतृत्वमा ३ सदस्यीय टोलीलाई इम्फाल पठाएको छ । मानव तस्करहरूले उनीहरूलाई दिल्लीमा केही दिन राखेर इम्फाल पुर्‍याएको प्रारम्भिक छानबिनमा देखिएको छ । इम्फालबाट गाडीमा राखेर ११० किमिको दूरीमा रहेको मुरेह नाका हुँदै म्यानमार पुर्‍याउने योजना बनाइएको थियो । यो घटनामा संलग्न भएको आशंकामा स्थानीय प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । तीमध्ये सात पुरुष र एक महिला रहेको दूतावास स्रोतले बताएको छ । उनीहरूमाथि कानुनी कारबाही सुरु भइसकेको छ ।

 

दूतावासका प्रवक्ता हरि ओडारीले उद्धार गरिएका नेपालीहरूलाई स्वदेश फिर्ता पठाउन आवश्यक कानुनी प्रक्रिया सुरु भइसकेको बताए । सुरुमा २० महिला मात्र रहेको भनिएकामा स्थानीय प्रहरी र दूतावासबाट गएको नेपाली टोलीले संयुक्त रूपमा मणिपुरको राजधानी इम्फाल र त्यहाँको विमानस्थल छेउछाउका होटलमा छापा मारेपछि १ सय ७९ नेपालीलाई इराक र कुवेतलगायत खाडी मुलुक पुर्‍याइदिने भन्दै त्यहाँ लगिएको खुलेको हो ।

 

नेपाल सरकारले भारत हुँदै तेस्रो मुलुक जान नो अब्जेक्सन लेटर (एनओसी) अनिवार्य गरेपछि पछिल्लो समय मानव तस्करहरूले नेपालीहरूलाई गैरकानुनी रूपमा विदेश पठाउन भारतका साना सहरबाट उठाउनेदेखि नक्कली एनओसी बनाउनेलगायत उपाय अपनाउन थालेका थिए । यो घटनासँगै वैदेशिक रोजगारीको गिरोहले नेपालीहरूलाई गैरकानुनी रूपमा विदेश पठाउन नयाँ गन्तव्य प्रयोग गर्न थालेको तथ्य पनि बाहिर आएको छ । यसका अतिरिक्त यो घटनाले मानव तस्करीको सञ्जालले नेपालीहरूलाई पछिल्लो समय सडक मार्गबाट समेत तेस्रो मुलुक पठाउने गरेको तथ्य बाहिर ल्याएको छ । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

इराक वैदेशिक रोजगारी नेपालीको उद्धार

विशेष