News

हेलिकोप्टर दुर्घटना : शव पहिचानमा समस्या

हेलिकोप्टर दुर्घटना : शव पहिचानमा समस्या

काठमाडौं। ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरूको पहिचानमा समस्या देखिएको छ । फुङलिङ नगरपालिका–१० सिस्नेभिरमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा निधन भएकाको शव बिहीबार दिउँसो काठमाडौं ल्याएर शिक्षण अस्पताल महाराजगन्ज लगिएको थियो । हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारी र उनका पीएसओ अर्जुन घिमिरेको शव पहिचान भएको बताइए पनि समस्या देखिएको छ ।

 

त्रिवि शिक्षण अस्पताल फरेन्सिक विभागका अनुसार मृतकहरूको नमुना संकलन भइरहेको र सनाखतका लागि समय लाग्ने जनाएको छ । विभागका प्रमुख विशेषज्ञ प्राडा हरीहर वस्तीका अनुसार मृतकको पहिचानका लागि डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन गरिनुपर्ने हुन्छ । क्षतविक्षत रूपमा रहेका मृतकहरूको शरीरका भागलाई परीक्षण गनुपर्ने हुन्छ । आवश्यक पर्ने भएकाले परिवारलाई शव बुझाउन कति समय लाग्छ अहिले नै भन्न सक्ने अवस्था रहँदैन ।

 

यसका लागि चिकित्सकहरुको टोलीले दत्तचित्त भएर काम गरिरहेको उनको भनाइ छ । औंठा छापसमेतलाई आधार मान्ने गरिन्छ । औंठा छापका लागि रातको समयमा समेत काठमाडौं जिल्ला प्रशासन कार्यालय खुला रहन्छ । उनले भने, ‘यो पोस्टमार्टमभन्दा विस्तृत हो र गहिराइमा पुगेर परीक्षण गर्नुपर्छ । प्रत्येक अंग प्रत्यंगको सनाखतसमेत गर्नुपर्ने हुन्छ, यसमा प्रशस्त समय लाग्न सक्छ ।’

 

दुर्घटनामा पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, उडड्यन प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभोया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, पीएसओ अर्जुनकुमार र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो । यो खबर आजको राजधानी दैनिकबाट लिइएको हो।

हेलिकोप्टर दुर्घटना

विशेष