मन्त्री अधिकारीसहित ७ जनालाई टुँडिखेलमा राखेर श्रद्धाञ्जली दिइँदै
काठमाडौं । ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनालाई शुक्रबार टुँडिखेलमा राखेर श्रद्धाञ्जली दिइँदै छ । बिहीबार श्रद्धाञ्जली कार्यक्रम राखिए पनि सबैको शव पहिचान हुन नसकेपछि शुक्रबार बिहानका लागि श्रद्धाञ्जलि कार्यक्रम राखिएको हो ।
श्रद्धाञ्जलीका लागि टुँडिखेलमा टेन्ट राखेर पार्थिव शरीर राख्ने स्थान सजाइएको छ । मन्त्री अधिकारीको पार्थिव शरिरलाई काठको बाकसमा राखिएको छ ।श्रद्धाञ्जलीका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरुलगायत पनि उपस्थित छन् । मन्त्री अधिकारीलगायत अन्य दिवंगतहरुलाई श्रद्धाञ्जली दिन बिहानैदेखि सर्वसाधारण टुँडिखेलमा भेला भएका छन् ।
श्रद्धाञ्जलीपछि अन्त्यष्टिका लागि मृतकको शव शुक्रबार परिवारलाई बुझाउने बताइएको छ । मन्त्री अधिकारीलाई गृह जिल्ला कास्कीमा लगेर अन्त्यष्टि गर्ने तयारी गरिएको छ । आफन्त तथा पोखरेलीको आग्रहअनुसार मन्त्री अधिकारीको शव कास्की लैजान लागिएको हो । बुधबार तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययन गरेर फर्किने क्रममा एयर डाइनेस्टी हेली सर्भिसको ‘९एन–एएमआई ९एएस ३५०–एच १२५०’ हेलिकोप्टर दुर्घटनामा परेको थियो ।
ताप्लेजुङको सिस्नेभिरमा हेलिकोप्टर दुर्घटनामा मृत्यु हुनेमा मन्त्री अधिकारीसहित यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरण एरोड्रम इन्जिनियरिङ विभाग प्रमुख धु्रवदास भोछिभोया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पिएसओ अर्जुन घिमिरे र हेलिकोप्टर चालक प्रभाकर केसी छन् ।