News

राष्ट्रपतिद्वारा दिवंगत मन्त्री अधिकारीप्रति श्रद्धाञ्जलि अर्पण, प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा

राष्ट्रपतिद्वारा दिवंगत मन्त्री अधिकारीप्रति श्रद्धाञ्जलि अर्पण, प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार बिहान टुँडिखेल पुगेर हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेकी छन । सोही अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले पनि मन्त्री अधिकारीसहित सातैजनालाई श्रद्धाञ्जलि अर्पण गरेका थिए। 

 

त्यस्तै  प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मन्त्री अधिकारीसहित सातै जनाको पार्थिव शरीरमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन। सो अवसरमा प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा झण्डा ओढाए।

 

नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरे । नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहेका मन्त्री अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाए । 

 

मन्त्री अधिकारीलगायत सातै जनाको पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा एवं मन्त्रीहरुले श्रद्धाञ्जलि अर्पण गरे । 

काठमाडौंबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा हेलिकप्टर दुर्घटना हुँदा सबैको निधन भएको थियो । दुर्घटनामा निधन भएका सबैको शव हिजो अपराह्न काठमाडौँ ल्याई श्रद्धाञ्जलिका लागि अहिले टँडिखेलमा राखिएको छ ।     

 

त्यस्तै अन्य नेता कार्यकर्ताले दिवंगत मन्त्री अधिकारीप्रति श्रद्धाञ्जलि व्यक्त गर्ने क्रम जारी रहेको छ। श्रद्धाञ्जलिको कार्यक्रमप्रश्चात मन्त्री अधिकारीको पार्थिव शरीरलाई पोखरा लगिने जनाइएको छ। पोखरामै मन्त्री अधिकारीको अन्त्यष्टि गरिने कार्यक्रम तय भएको छ। 

 

बुधबार तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययन गरेर फर्किने क्रममा एयर डाइनेस्टी हेली सर्भिसको ‘९एन–एएमआई ९एएस ३५०–एच १२५०’ हेलिकोप्टर दुर्घटनामा परेको थियो ।

 

ताप्लेजुङको सिस्नेभिरमा हेलिकोप्टर दुर्घटनामा मृत्यु हुनेमा मन्त्री अधिकारीसहित यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरण एरोड्रम इन्जिनियरिङ विभाग प्रमुख धु्रवदास भोछिभोया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पिएसओ अर्जुन घिमिरे र हेलिकोप्टर चालक प्रभाकर केसी छन् ।

श्रद्धाञ्जलि रवीन्द्र अधिकारी राष्ट्रपति विद्यादेवी भण्डारी

विशेष