News

सिके राउतसँगको सम्झौता शंकास्पद र डरलाग्दो : अध्यक्ष थापा

सिके राउतसँगको सम्झौता शंकास्पद र डरलाग्दो : अध्यक्ष थापा

महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार र सिके राउतबिच भएको सम्झौताप्रति आशंका व्यक्त गरेका छन् । उनले यो शंकास्पद र डरलाग्दो भएको भन्दै सरकारले तुरुन्तै आफ्नो धारणा जनता समक्ष स्पष्ट पार्नुपर्ने बताए ।

 

मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्राको क्रममा कंचनपुर आईपुगेका थापाले शनिबार मिडिया नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय अखण्डता, स्वतन्त्रता र सार्वभौमसत्ता जनमत संग्रह वा आवधिक चुनाब कुनै प्रक्रियाबाट पनि परिवर्तन वा संसोधन हुन नसक्ने जिकिर गरे । विखण्डन परित्याग पहिलो नजरमा स्वागतयोग्य भएता पनि यस संवेदनशील विषयमा सरकारले जनतालाई आश्वस्त पार्नु पार्ने थापाको धारणा थियो ।

 

सरकार र राउतबीच भएको सम्झौताको भाषा विवादास्पद रहेको थापाको भनाई छ । देश विखण्डनको विषय कुनै हालतमा स्वीकार्य हुन नसक्ने भन्दै थापाले एक्कासि रहस्यमय ढंगबाट भएको सम्झौता डरलाग्दोसमेत हुनसक्ने तर्क गरे । सरकारले आफ्नो धारणा स्पष्ट नगरे जनता देश जोगाउनको निमित्त स्वतस्फूर्त आन्दोलनमा होमिने उनको चेतावनी थियो ।

 

निर्मला पन्तको दोषी पत्ता लगाउन नसक्नु सरकारको असफलता भएको भन्दै उनले यस घटनामा शक्ति र पहुँचवालाको संलगनता भएकोले सरकार निरीह भएको हुन सक्ने आशंका  व्यक्त गरे । शक्ति र पहुँचको आधारमा दोषी जोगाउन सरकार लागेको भए त्यो दुर्भाग्यपूर्ण हुनेसमेत बताए।

 

ताप्लेजुङबाट शुरु भएको यात्रा हिजो कंचनपुर आइपुगेको हो । यात्रा कैलालीको टीकापुर, नेपालगन्ज, बुटवल, स्याङ्जा, पोखरा हुँदै फागुन २९ गते काठमाडौं आइपुग्ने कार्यक्रम रहेको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

कमल थापा डा. सिके राउत

विशेष