News

शिव सेनाको केन्द्रीय समिति बैठक शनिबारदेखि, देशभरका नेताहरु काठमाडौंमा 

शिव सेनाको केन्द्रीय समिति बैठक शनिबारदेखि, देशभरका नेताहरु काठमाडौंमा 

काठमाडौं । शिव सेना नेपालको केन्द्रीय समितिको बैठक शनिबारदेखि काठमाडौंमा शुरु हुने भएको छ । 

 

दुई दिनसम्म चल्ने बैठकमा सहभागी हुन मुलुकभरबाट करिब ८० जना केन्द्रीय समिति सदस्यहरु भेला भइसकेका छन् । यसपटकको बैठकमा छलफल हुने विषयहरु भन्दा पहिले शिव सेनाले विज्ञ एवं विश्लेषकहरुसँग अन्तरक्रिया पनि गर्ने जनाएको छ । 

 

शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत ‘बाबा’का अनुसार मूल रुपमा यसपटकको केन्द्रीय समितिमा हिन्दुत्व, राजसंस्था र समसामयिक राजनीतिबारे छलफल हुनेछ । छलफलको निष्कर्षलाई केन्द्रीय समितिले अनुमोदन गरेलगत्तै पार्टीले केही रणनीति पनि बनाउनेछ । मूलतः सडकबाटै वर्तमान व्यवस्थामा फेरबदल गर्ने योजनामा शिव सेना छ । 

 

‘राजसंस्था र जनता भनेकै राष्ट्र हो’ भन्दै आएको शिव सेनाले यसपटकको केन्द्रीय समिति बैठकमा डा. सुुरेन्द्र केसी, डा. एन. ओझा, वरिष्ठ पत्रकार युवराज घिमिरेलगायतसँग छलफल गर्दैछ । 

 

‘भीषण प्रलयमा पनि अडिग रहन सक्ने महादेवको सेना नै वास्तविक अर्थमा शिव सेना हुन्छन्’ भन्नेमन्त्र आत्मसात गरेको शिव सेनाले शिवरात्रिको अवसर पारेर केन्द्रीय समितिको बैठक आयोजना गर्न लागेको हो । 

 

यो बैठकपछि मुलुकलाई निकास दिन आवश्यक कदम चालिने पनि अध्यक्ष बस्नेतले दावी गरे । उनले भने, ‘हामी योजनाबद्ध रुपमा व्यवस्थित भएर काम गरिरहेका छौं । अबको निकास भनेको अपरिहार्य छ । यो अवस्य हुन्छ । नेपाली जनताले चाहेको राजसंस्था र हिन्दुधर्म फर्किनेछ ।’

शिव सेना नेपालमा सदस्य हुनका लागि केही शर्त नै कठोर छन् । अध्यक्ष बस्नेतका अनुसार यो पार्टीको सदस्य हुनेले सर्वप्रथम त राजावादी हुनै पर्छ । राजसंस्थाप्रति बफादार नहुनेले पार्टी सदस्यता पाउँदैनन् । धर्ममा पनि आस्थावान हुनुपर्छ ।
 

विशेष