सीके विवाद मत्थर गर्न मन्त्री फेर्ने हल्ला
एकपछि अर्को विवादमा फस्दै गएको सरकारले अहिले पनि मन्त्री फेरबदलको हल्ला चलाएको छ । सीके राउत प्रकरणबाट नराम्ररी आलोचित भएपछि मानिसहरुको ध्यान अन्यत्र मोड्न फेरि अर्को बिषय अघि सारिएको छ ।
सरकारका मन्त्री फेर्ने बिषय चर्चामा ल्याएका नेकपा अध्यक्ष पुष्पकमल दाहालले हुन । उनले मंगलबार बिहान संचारकर्मीहरुसंग कुरा गर्दै प्रधानमन्त्री मन्त्री फेर्ने मनस्थितिमा भएको र यो बिषयमा प्रधानमन्त्री ओलीले आफूसंग पनि छलफल गरेको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले नयाँ मन्त्री नियुक्त गर्नेबारे पार्टीका अन्य नेताहरूसँग सल्लाह गरिरहेको बुझिएको छ । प्रदेश १ को राजधानी विराटनगरमा संचारकर्मीहरूसँग बोल्दै दाहालले भने, मन्त्री परिवर्तन गर्ने अधिकार प्रधानमन्त्रीको भएकाले आफै गर्न भनेको छु । ’
सरकारका मन्त्री फेर्ने बिषय नयाँ होइन । फेरिने मन्त्रीका नामहरु पनि लगभग बाहिर आइसकेका हुन् तर फेर्न सकिएको छैन । मन्त्री फेर्दा प्रधानमन्त्रीको मुल्याङ्कन पूर्वाग्रहरहीत छ भन्ने आधार के ? फेरि भागवण्डाको कुरा पनि छ ।
झलनाथ खनालको कोटाबाट मन्त्री भएका शेरबहादुर तामाङ बोल्न नजान्दा पद छोड्नुपर्ने अवस्थामा पुगे । सो पदमा उनै खनाल वा अरु कोही नेताको सिफारिसमा अर्को व्यक्ति नियुक्त गर्नुपर्ने हो । तर, प्रधानमन्त्री खनालले आफना बिश्वासपात्र भानुभक्त ढकाललाई सो पद दिए । तामाङलाई पदबाट हटाउन उनले दिएको अभिव्यक्ति त बाहना मात्र थियो । मुख्यकुरो ओलीलाई ढकाललाई कसरी मन्त्री बनाउने भन्ने अफ्ठ्यारो थियो, त्यो फुक्यो ।
अहिले मन्त्री फेरबदलको कुरा पनि आफनाहरुलाई मौका दिने मात्र हो । यो बेला प्रधानमन्त्रीसंग कोही पनि खुशी छैन । उनकै पार्टीमा अध्यक्ष दाहालसहित नेता खनाल, माधव नेपाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, भीम रावल, घनश्याम उपाध्याय, योगेश भट्टराई सबै रुष्ट छन् । भट्टराईले त ओली बदनाम भैसकेकाले यो क्याबिनेटमा नजाने संकेतसमेत गरिसकेका छन् । मन्त्री फेर्ने भनिएपनि उपयुक्त पात्र फेला पार्न ओलीलाई कठिन छ ।
सरकारमा व्यक्ति परिवर्तन भन्दा पनि सरकारको शैली परिवर्तन जरुरी छ । सरकारले जति पनि नीति नियम र बिधेयक अघि बढाउँदै छ सबै नियन्त्रणमुखी छन् । यो अधिनायकवादको चरित्र हो । अझ विकास र समृद्धिको नारा बोकेको सरकार सीके, होली वाइन, भेनेजुएला जस्ता अनावश्यक विवादमा फसिरहेको छ । यसले सरकारलाई अलोकप्रिय मात्र बनाइरहेको छ ।
सरकार परिणाम दिन नसक्ने स्थितिमा पुगेपछि अत्तालिएको जस्तो देखिन्छ । हतारमा कहिले के कहिले के निर्णय गर्दा थप विवादमा पर्न थालेको छ । पछिल्लो पटक सीके राउतसंग भएको सहमतिमा सरकार नराम्ररी फसिसकेको छ । चौतर्फी आलोचना हुन थालेपछि त्यसलाई बिषयान्तर गर्न सरकार लागेको देखिन्छ ।
मन्त्री फेरबदलको चर्चालाई सीके राउत विवादबाट मुक्त हुन रचिएको अर्को प्रहसनकारुपमा अथ्र्याउन थालिएको छ ।