२ महिनामै २ लाख बढी पर्यटक भित्रिए
काठमाडौं । सन् २०१९ को दुई महिनामा दुई लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागको तथ्यांकअनुसार जनवरी र फेब्रुअरीमा करिब दुई लाख १६ हजार विदेशी पर्यटक नेपाल आएका हुन् । फेब्रुअरीमा मात्रै ९७ हजार ६ सय ९४ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो संख्या अघिल्लो वर्षको सोही अवधिमा ३३ प्रतिशतले बढी हो ।
सन् २०१८ को दुई महिनामा करिब एक लाख ६३ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो वर्षको फेब्रुअरीमा करिब ८९ हजार विदेशी पर्यटक नेपाल आएका थिए । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको विवरणमा सन् २०१९ को जनवरी महिनामा ९१ हजार ७ सय ९३ जना विदेशी पर्यटक नेपाल भ्रमण गरेका छन् ।
फेब्रुअरीमा मात्रै भारतबाट नेपाल आउने विदेशी पर्यटकको सङ्ख्यामा ९२ दशमलव ५ प्रतिशतले बढेको छ । सार्क मुलुकबाट नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्यामा पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८५ प्रतिशतले बढेको छ । चिनियाँ पर्यटक ५ दशमलव ३ प्रतिशतले मात्रै बढेको छ । युरोपेली मुलुक बेलायतबाट ८ दशमलव ७, जर्मनबाट २७ दशमलव ९ र फ्रान्सबाट आउने पर्यटकमा ७ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ । सन् २०१९ को फेब्रुअरीमा युरोपबाट आउने पर्यटकको सङ्ख्या १७ हजार ७८९ पुगेको छ । यो अवधिमा अमेरिकाबाट सात हजार १३३ पर्यटक आएका छन् । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा पाँच प्रतिशतले बढी हो ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बोर्ड तथा निजी क्षेत्रले गरेको प्रवद्र्धनात्मक गतिविधिका कारण विदेशी पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बताए । गत वर्षको तुलनामा यस वर्षको दुई महिनामा ४० प्रतिशतले पर्यटक आगमन बढ्नुले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन सहयोग पुग्ने उल्लेख गरे ।
पर्यटक नेपाल भ्रमण