यस वर्ष चार हजार युवालाई रोजगार बनाउँदै शिक्षा मन्त्रालय

काठमाडौं । सरकारले यस वर्ष करीब चार हजार बेरोजगार युवालाई रोजगार बनाउनका लागि निःशुल्क तालीम सञ्चालन गर्ने भएको छ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (इभेन्ट)ले यसवर्ष तीन हजार ६६० बेरोजगार युवालाई स्वरोजगार बनाउन निःशुल्क तालीम सञ्चालन गर्ने भएको इभेन्टका सूचना अधिकारी नेत्रनारायण पौडेलले जानकारी दिए। उनले छोटो अवधिका तीन महीने उक्त तालीमपछि युवा आफैँ स्वरोजगार हुने बताए।
३९० घण्टा सञ्चालन हुने तालीममा इलेक्ट्रेसियन, सिलाइकटाइ, जुनियर प्लम्बर, खाने पकाउने, कृषि, मोबाइल मर्मत, विभिन्न पहिरन निर्माण रहेका छन्। तालीमको लागि भृकुटीमण्डपमा आइतबारदेखि मङ्गलबारसम्म भौचर सङ्कलन गरिएको थियो। तालीममा प्रशिक्षार्थीलाई दैनिक ७५ रुपियाँ बराबरको खाजा समेत उपलब्ध गराइनेछ।
काठमाडौँ उपत्यकाका विभिन्न तालीम प्रदायक संस्थाले दिइने उक्त तालीममा देशभरिका १६ देखि ४० वर्ष उमेर समूहका साधारण लेखपढ जान्ने, आर्थिक रुपमाले विपन्नता भएकाले सहभागी हुन सक्नेछन्। तीन महीनाको तालीमपश्चात प्रशिक्षार्थीको तालीमको सीप परीक्षण गरेर छ महीना रोजगारीमा जानु पर्नेछ।
यसरी तालीमपश्चात तालीम दिने संस्थाले नै रोजगारमा लगाउने दायित्व रहेको उनको भनाइ थियो। भौचरको आधारमा चैतको दोस्रो हप्ताबाट तालीम सञ्चालित हुनेछ।
शिक्षा मन्त्रालय रोजगारी