News अर्थ

भारतद्वारा राजस्व अनुसन्धानका ५० कर्मचारीलाई तालिम

भारतद्वारा राजस्व अनुसन्धानका ५० कर्मचारीलाई तालिम

काठमाडौं । भारतले राजस्व अनुसन्धान विभागका ५० कर्मचारीलाई राजस्व चुहावटसम्बन्धी तालिम सञ्चालन गरेको छ। नेपाल सरकारको अनुरोधमा राजस्व अनुसन्धान विभाग, नेपालका ५० कर्मचारीका लागि तयार पारिएको 'राजस्व चुहावटको अनुसन्धान तथा नियन्त्रण' विषयक पाँचदिने विशेष तालिम भारतको फरीदाबादस्थित नेशनल एकाडेमी अफ कस्टम, इनडाइरेक्ट ट्याक्स एन्ड नार्कोटिक (एनएसिआइएन)मा सोमबारदेखि सञ्चालन भएको हो।

 

उक्त तालिम 'भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम' अन्तर्गत भारत सरकारको पूर्ण सहयोगमा सञ्चालन गरिएको हो। यस पहलकदमी अन्तर्गत राजस्व अनुसन्धान विभाग, नेपालका कूल ५० कर्मचारीलाई तालिम दिइने भारतीय दूतावासले जनाएक छ। विभागका २५ कर्मचारीको दोश्रो टोलीले सोहि स्थानमा आफ्नो तालिम २०७५ चैत्र ११ गतेदेखि सुरु गर्नेछन्।

 

यस तालिमले राजस्व अनुसन्धान विभागका कर्मचारीहरुको अनुसन्धान तथा छानबिन गर्ने क्षमता अभिवृद्धि गर्नुका साथै उनीहरूलाई वैधानिक अर्थव्यवस्थाबाट हुने राजस्व चुहावट नियन्त्रण तथा रोकथाममा थप प्रभावकारी तथा सुसज्जित बनाउन सहयोग गर्नेछ जसबाट राजस्व अनुसन्धान विभागको राष्ट्र निर्माण योगदानमा थप ऊर्जा मिल्नेछ।

 

अप्रत्यक्ष कर संकलन तथा औषधि कानुन प्रवर्द्धनको क्षेत्रमा एनएसिआइएन भारत सरकारको शीर्ष तालिम संस्था रहेको भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। विश्व भन्सार संगठन एसिया/प्रसान्त क्षेत्रका लागि यो संस्था मान्यता प्राप्त क्षेत्रीय तालिम केन्द्रको रुपमा रहेको छ। साथै यस संस्थाले युएनइपी, युएनओडिसी, एसआइसी जस्ता अन्तराष्ट्रिय संगठनहरूसँग पनि काम गर्दछ। भारतको फरीदाबादस्थित प्रधान कार्यालयसँग मिलेर एनएसिआइएनले १८ आञ्चलिक तथा क्षेत्रीय तालिम संस्था तथा एक विशिष्ट केन्द्रमार्फत आफ्नो सेवा विस्तार गरेको समेत विज्ञप्तिमा उल्लेख छ।

कर्मचारी राजस्व अनुसन्धान विभाग भारतीय दूतावस

विशेष