News

स्थानीय तहसँग अपुग कर्मचारीको विवरण माग्यो मन्त्रालयले

स्थानीय तहसँग अपुग कर्मचारीको विवरण माग्यो मन्त्रालयले

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ स्थानीय तहमा अपुग कर्मचारीको विवरण माग गरेको छ ।

 

मन्त्रालयले देशभरका स्थानीय तहलाई पत्राचार गर्दै सो विवरण मागेको हो । कर्मचारी समायोजन अन्तिम चरणमा पुगिसक्दा पनि स्थानीय तहमा कर्मचारी अभाव भएको अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले सो माग गरेको हो । स्थानीय तहको सेवा सञ्चालनका लागि बा“की रिक्त पदहरूमा शीघ्र पदपूर्ति गर्नुपर्ने अवस्था रहेको भन्दै पदको विवरणसहित स्थानीय तहलाई माग फाराम पठाउन परिपत्र जारी गरेको मन्त्रालयले जनाएको छ ।

 

प्रदेश लोक सेवा आयोगको गठन नभएसम्म स्थानीय तह रिक्त पदहरूमा पदपूर्ति गर्न सम्बन्धित स्थानीय तहले मन्त्रालयमार्फत लोक सेवा आयोगमा माग पठाउनुपर्ने कर्मचारी समायोजन ऐन, २०७५ मा रहेको व्यवस्था रहेको छ । सोही प्रावधानअनुरुप कर्मचारी माग गरिएको मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयको मागेअनुसार प्रत्येक गाउँपालिका, नगरपालिकाले स्थानीय तहमा कार्यरत कर्मचारी र हाल समायोजन भई आएका कर्मचारीको विवरणसहित रिक्त हुने पदको संख्या उल्लेख गरी विवरण पठाउनुपर्ने छ । सरकारले स्थानीय तहमा ६७ हजार ५ सय ३ कर्मचारी समायोजन गर्ने गरी नयाँ दरबन्दी सिर्जना गरेको थियो । तर अहिलेसम्म स्थानीय तहमा भनेजस्तो कर्मचारी समायोजन हुनसकेका छैनन् । मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीका अनुसार स्थानीय तहमा आवश्यक भन्दा नौ गुणा कम कर्मचारी समायोजन भएका छन् । यो खबर आजको नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो ।

कर्मचारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

विशेष