News

महसुल नतिर्ने ६१६ जना ग्राहकको लाइन 'कट'

महसुल नतिर्ने ६१६ जना ग्राहकको लाइन 'कट'

दमौली । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् बक्यौता नबुझाउने ६१६ ग्राहकको लाइन काटेको छ । केन्द्रले चालू आर्थिक वर्ष २०७५/७६ को फागुन अन्तिम सातासम्म विद्युत् महसुल नबुझाई अटेर गर्ने ग्राहकको लाइन काटेको हो ।

 

साठी दिनभन्दा बढी समयसम्म महसुल नतिर्ने ग्राहकको लाइन काटिएको केन्द्रका प्रमुख शिव गोशलीले जानकारी दिए । उनका अनुसार लाइन काटेर कारवाही गरिएका ग्राहकले धमाधम बक्यौता रकम बुझाउन थालेका छन् ।

 

वितरण केन्द्रले चालू आर्थिक वर्षमा ६१६ ग्राहकको लाइन काटेकामा ५०३ ग्राहकले विद्युत् महसुल बक्यौता तिरेको गोशलीले जानकारी दिए । ती ग्राहकबाट एक करोड ६३ हजार ८६१ बक्यौता असुल भएको छ । बक्यौता रकम बुझाएपछि ग्राहकको लाइन पुनः जोडिएको केन्द्रले जनाएको छ ।

 

विद्युत् महसुल संकलन विनियमावली २०७३ को विनियम ७ को उपविनियम ३ अनुसार मिटर रिडिङ गरेको सात दिनभित्र महसुल बुझाउने ग्राहकलाई दुई प्रतिशत छुट दिइन्छ भने आठ दिनदेखि २२औँ दिनभित्र महसुल बुझाएमा बिलअनुसारको महसुल लाग्नेछ ।

 

त्यस्तै मिटर रिडिङ गरेको २३‍औँ दिनदेखि ३०औँ दिनसम्म विद्युत् महसुल बुझाएमा पाँच प्रतिशत थप दस्तुर लाग्नेछ । विनियमावलीमा उल्लेख भएअनुसार मिटर रिडिङ गरेको ३१औँ दिनदेखि ४०औँ दिनसम्म विद्युत् महसुल नबुझाएमा १० प्रतिशत थप दस्तुर लाग्छ भने ४१औँ दिनदेखि माथि थप २५ प्रतिशत दस्तुर लाग्नेछ ।

 

विनियमावलीको विनियम १० अनुसार मिटर रिडिङ गरेको ६०औँ दिनसम्म पनि विद्युत् महसुल नबुझाएमा बिनासूचना जुनसुकै समयमा पनि विद्युत् लाइन काट्न सक्ने व्यवस्था रहेको गोशलीले जानकारी दिए ।

 

अस्पतालले तिर्‍यो बाँकी बक्यौता

विद्युत् उपयोग गरेवापत सबैभन्दा बढी बक्यौता रहेको दमौली अस्पतालले समेत बाँकी बक्यौता तिरेको छ । केन्द्रले पटक–पटक विद्युत् महसुल तिर्न अस्पताललाई ताकेता गरेपछि अस्पतालले रु ३४ लाख ५६ हजार ४३५ तिरेको केन्द्रले जनाएको छ ।

 

केन्द्रका अनुसार अस्पतालले पुस महीनामा रु १५ लाख ७२ हजार ४३५ र फागुनमा दुई किस्तामा रु चार लाख ३६ हजार ९३५ र १४ लाख ५७ हजार ६५ चुक्ता गरेको छ । उक्त रकम तिरेपछि अस्पतालको नाममा कुनै बाँकी बक्यौता नरहेको केन्द्रले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरण

विशेष