मानव–वन्यजन्तु द्वन्द्व न्यूनिकरणका लागि सरकारले पहल गर्ने
सरकारले मानव–वन्यजुन्त द्वन्द्व न्यूनिकरणका लागि सक्दो पहल गर्ने प्रतिवद्धता जनाएको छ ।
वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले मानव वन्यजन्तुबीचको द्वन्द्व न्यूनिकरणका लागि सरकारले चालू आर्थिक वर्षका लागि झापामा हात्ति करिडोर निर्माणका लागि ६ करोड बजेट विनियोजन गरेको पनि रस्मण गराए । बुधबार संघीय संसदको प्रतिनिधिसभा बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले झापाको विभिन्न स्थानमा हुने जंगली हात्तिको अतिक्रमणलाई रोक्न हाल सरकारले जलथलमा हात्ति करिडोर निर्माण कार्य सुरु गरेको पनि स्पष्ट पारे । त्यसैगरी जंगली हात्तिको प्रभाव क्षेत्रमा विद्युतीय तारबारसहितको व्यवस्थापनको काम पनि सुरु गरिएको मन्त्री बस्नेतको भनाई छ । बैठकमा सांसद पवित्रा निरौला खरेलले झापामा जंगली हात्ति न्यूनिकरणका लागि आवश्यक बजेट र कार्यक्रमबारे जानकारी दिन मन्त्री बस्नेतसँग जिज्ञासा राख्नु भएको थियो । त्यसको जवाफ दिने क्रममा मन्त्री बस्नेतले सो समस्या समाधानका लागि सरकारले युथ क्लव निर्माण गरेको, जनचेतनामूलक कार्यक्रमलाई अघि बढाएको पनि बताए ।
मन्त्री बस्नेतले बर्दिया जिल्लामा हुने गरेका हात्ति आतंक न्यूनिकरणका लागि सरकारले हरेक वर्ष आवश्यक बजेट व्यवस्था गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गरे । सांसद संजयकुमार गौतमले बर्दियामा भारतीय जंगलबाट आउने हात्तिले दुःख दिने गरेको भन्दै त्यसको समाधानका लागि के योजना छ भनि मन्त्री बस्नेतलाई प्ररेका थिए । मन्त्री बस्नेतले सांसदहरुले सोधेका प्र्र्रश्नको जवाफ दिँदै निजगढ अन्तराष्ट्रिय विमान स्थल वरपरको जंगलको जैविक मार्गको संरक्षण गर्न सरकार सचेत रहेको पनि स्पष्ट पारे । बैठकमा सांसद सरदसिंह भण्डारीले सो विमानस्थल वरपरको जंगलमा निर्माण गरिएको जैविक मार्ग संरक्षण गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका थिए । त्यसैगरी सांसद राजेन्द्रप्रसाद लिङदेन, देवेन्द्रराज कँडेलले वन क्षेत्रको अतिक्रमणका कारण वन्यजन्तु र मानवबीच द्वन्द्व हुन गएको उल्लेख गर्दै त्यसको समाधानका लागि सरकारको भावी योजना र बजेटबारे पनि मन्त्री बस्नेतसँग जिज्ञासा राखेका थिए ।
मानव–वन्यजुन्त द्वन्द्व न्यूनिकरण