दुर्घटनाग्रस्त इथियोपियन विमानको ‘ब्लाक बक्स’को अध्ययन यूरोपमा
एजेन्सी । इथियोपियाले दुर्घटनाग्रस्त इथियोपियन एअरलान्सको बोइङ ७३७ म्याक्स विमानको ब्लाक बक्समा रेकर्ड भएका गतिविधि अध्ययन तथा विश्लेषणका लागि यूरोप पठाउने निर्णय भएको विमान कम्पनीका प्रवक्ताले बुधबार जानकारी गराएका छन्।
आइतबार चालकदलका सदस्यसहित १५७ जना लिएर उडेको केही मिनेटमै विमान दुर्घटना हुँदा विमानमा सवार सबैको मृत्यु भएको थियो । विमानमा विभिन्न ३५ देशका यात्रुहरू रहेको कम्पनीले जानकारी गराएको छ ।
प्रवक्ता असरत वेगासाले भने, 'हामीले ब्लाक बक्सको विश्लेषणका लागि यूरोप पठाउने निर्णय गरेका छौँ । तर कुन देशमा पठाउने भन्ने बिषयमा सम्बन्धित देशको अनुमतिपश्चात सार्वजनिक गरिनेछ । हामीले अहिलेसम्म यही देश पठाउने भन्ने अझै टुङ्गो लागेको छैन ।' यस पहिले विमान कम्पनीले ब्लाक बक्स अध्ययनका लागि आफूहरूसँग सामग्री नभएको बताएको थियो ।
पाँच महिनाको अन्तरालमा दुई वटा विमान एकै प्रकृतिबाट दुर्घटनाग्रस्त भएपछि बोइङ ७३७ म्याक्सलाई विश्वभरबाट प्रतिबन्ध लगाइएको छ । चीनबाट सुरु भएको प्रतिबन्ध विभिन्न देश हुँदै भारतले पनि आफ्नो आकाशमा बोइङ ७३७ म्याक्सलाई उडाउन निषेध गरेको छ । चीन र भारतले आफ्नो आकाश निषेध गरेसँग बोइङ ७३७ म्याक्सलाई नेपाली आकाशमा पनि स्वतः निषेध भएको छ ।
बोइङ ७३७ म्याक्स इथियोपियन एअरलान्स