विदेश

अब बोइङ ७३७ म्याक्स विश्वभर नउड्उने

अब बोइङ ७३७ म्याक्स विश्वभर नउड्उने

बिबिसी । अमेरिकी विमान निर्माता कम्पनी बोइङले आफ्ना ७३७ म्याक्स मोडलका सबै विमान उडानमा प्रतिबन्ध लगाएको छ। कम्पनीको प्रतिबन्धसँग उक्त मोडेलका ३७१ वटा विमानले अर्को निर्णय नभएसम्म उडान भर्न पाउने छैनन्।

 

अमेरिकी उड्डयन नियामक निकायले गत आइतबार ७३७ म्याक्स मोडेलको इथियोपियन विमान दुर्घटनाको भू-उपग्रह माध्यमबाट संकलित पछिल्ला विवरण अध्ययनपश्चात नयाँ प्रमाण भेटिएको बताएपछि उक्त निर्णय लिइएको बताइएको छ। यसअघि अमेरिकी संघीय उड्डयन प्रशासनले उडानहरू रोक्ने आधार नभेटिएको बताएको थियो।

 

बुधबार भने उक्त निकायका कार्यबाहक प्रशासक डेनियल इल्वेलले भनेका छन्, 'हामी सबै यो कुरामा स्पष्ट भएका छौँ कि दुर्घटना भएको इथियोपियन एअरलाइन्सले लिएको बाटो र उसको व्यवहार लायन एयरको जस्तै थियो। जमिनमा पाइएका प्रमाणले पनि त्यस्तै देखायो।'

 

आइतबार उडेको केही मिनेटमै विमान दुर्घटना हुँदा विमानमा सवारचालकदलका सदस्यसहित १५७ जनाको मृत्यु भएको थियो । आदिस अबाबाबाट उडेको केही मिनेटमै सो विमान आइतवार बिहान दुर्घटनाग्रस्त भएको थियो । सोही मोडेलको लायन एयरको विमान पाँच महिनाअघि इन्डोनेशियामा दुर्घटना हुँदा १८९ जनाले ज्यान गुमाएका थिए।

 

यसअघि राष्ट्रपति ट्रम्पले दुर्घटनास्थल र अन्यत्रबाट प्राप्त विवरण एवम् उजुरीका आधारमा आपत्कालीन आदेश दिन लागेको बताएका थिए। गत वर्षको अन्त्यतिर केही अमेरिकी पाइलटहरूले उक्त विमानलाई उडाउने बेलामा नियन्त्रण गर्न समस्याहरू भएको उजुरी गरेका थिए।

 

बोइङले भने उक्त मोडेलको विमानको सुरक्षामा आफू सुनिश्चित रहेको बताएको छ। उडानहरू रोक्नुलाई भने उसले 'निकै उच्च स्तरको सावधानी' अपनाएको बताउँदै मानिसहरूलाई पुन: आश्वस्त पार्न चाहेको जनाएको छ। यसअघि नै ब्रिटेन, युरोपेली सङ्घ, चीन, अस्ट्रेलिया र भारत लगायतका देशले आफ्ना विमानसेवामा उक्त मोडलको जहाजलाई उड्न रोकिसकेका थिए।

 

सो मोडलको विमान सन् २०१७ देखि मात्रै व्यावसायिक उडानमा प्रयोग हुन थालेको हो। बोइङको वेबसाइटका अनुसार १६ वटा वायुसेवा कम्पनीले सो मोडलका विमानहरू किनेका छन्।

बोइङ ७३७ म्याक्स

विशेष