News

सरकारको प्रतिबन्धमा परेपछि विप्लव समूहको प्रभाव बढ्यो

सरकारको प्रतिबन्धमा परेपछि विप्लव समूहको प्रभाव बढ्यो

काठमाडौं : सरकारले प्रतिबन्ध लगाएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आह्वान गरेको पहिलो नेपाल बन्दको प्रभाव देशभर उच्च देखिएको छ । काठमाडौं उपत्यकालगायत देशभरका प्रमुख शहरहरूमा नेकपाका अघिल्ला बन्दका तुलनामा यस पटक छोटो तथा लामो दूरी सवारी साधन सञ्चालनमा पनि प्रभाव परेको देखिन्छ ।

 

आफ्ना कार्यकर्तामाथि सरकारबाट भइरहेको धरपकड बन्द गरी पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै विप्लव समूहले बिहीबार नेपाल बन्द आह्वान गरेको हो । सरकारले विप्लव नेतृत्व नेकपाका गतिविधि नियन्त्रण गर्न भन्दै प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । उक्त घोषणालाई लिएर कतिपय विश्लेषकले सरकारले नै नेकपाको पावर बढाइदिएको रूपमा व्याख्या गरेका छन् भने जनता पनि उसका गतिविधिबाट डराउन थालेका छन् । बन्दको पूर्वसन्ध्यामा र बिहानै देशका विभिन्न स्थानमा शंकास्पद वस्तु भेटिएपछि सर्वसाधारण थप सशंकित बनेका छन् ।

 

बिहीबार बिहान बुटवल, पोखरा, गोरखा हेटौँडाजस्ता व्यस्त शहरमा शंकास्पद वस्तु भटिएका छन् भने बुधबार बेलुका अनामनगरमा भेटिएको संकास्पद वस्तु सेनाले डिस्पोज गरेको थियो । बुटवलमा भेटिएको संकास्पद वस्तु बम भएको सेनाले पुष्टि गरेको छ भने गोरखा, उदयपुर र पोखरामा भेटिएका संकास्पद वस्तुहरू डिस्पोज गर्ने तयारी गरिएको जनाइएको छ । हेटौँडामा भेटिएको संकास्पद वस्तु सेनाले डिस्पोज गरेको छ ।

त्यस्तै, रुकुममा पनि संकास्पद वस्तु फेला परेको छ । प्लास्टिकभित्र चामलको बोहोरामा पोको पारिएको र २ वटा मोटो खालको वाइरिङ तार जोडिएको अवस्थामा उक्त वस्तु फेला परेपछि सर्वसाधारणले प्रहरीलाई खबर गरेका थिए । अहिले सेनाले डिस्पोजको तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रहरी प्रमुख योगेन्द्र कुमार खड्काले जानकारी दिए । सर्वसाधारणलाई ससंकित पार्न रौतहटको चन्द्रपुर नगरपालिका १० बालचनपुरमा नक्कली प्रेसर कुकुर राखेको भेटिएको छ। बम बिहीबार बिहान नेपाली सेनाले डिस्पोज गरेको छ ।

 

त्यस्तै, देशको पूर्वी क्षेत्रमा पनि बन्दको प्रभाव उच्च देखिएको छ । बन्दका कारण बिहानैदेखि धनकुटा भएर चल्ने लामो तथा छोटो दूरीका यातायात सञ्चालनमा आउन नसकेको धनकुटा ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए । बन्दका कारण धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरको जनजीवन बढी मात्रामा प्रभावित भएको छ ।

 

बन्दको प्रभाव तराईका जिल्लामा सामान्य मात्रामा परे पनि पहाडी जिल्लामा बढी मात्रामा परेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवि पौडेलले जानकारी दिए । बन्दका कारण सयौं यात्रु बीच बाटोमै अलपत्र परेका छन् । बन्दले बजार, कलकारखानामा सामान्य प्रभाव परे पनि शैक्षिक संस्था भने निर्वाध रूपमा सञ्चालन भइरहेका छन् ।

 

त्यस्तै, बन्दको अवेज्ञा गरेको भन्दै नेकपाका कार्यकर्ताले विभिन्न ठाउँमा सवारी साधानमाथि आगजनी गरेका छन् । नेपाल बन्दको उल्लघंन गरेको भन्दै कैलालीको बडैपुरमा विवाहको बसमाथि आगजनी गरिएको छ । पूर्वबाट पश्चिमतर्फ आइरहेको म १ ख ४४१ नम्बरको बसमा सवार यात्रुलाई ओरालेर आगजनी गरिएको ईलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ । आगजनीबाट बस पूर्णरूपमा क्षति भएको छ ।

त्यस्तै, मकवानपुरको थाहा नगरपालिका–४, नयाँगाउँमा गएराति एक ट्रकमाथि आगजनी गरिएको छ । अज्ञात समूहले काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना ५ ख ७४११ नम्बरको हेभी इक्वीपमेन्ट बोक्ने ट्रेलर गाडी गएराति १२ बजे आगजनी गरेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

 

बन्दका कारण पूर्व-पश्चिम तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्गमा सार्वजनिक सवारी चलेका छैनन् । शैक्षिक संस्था, बजार तथा औद्योगिक प्रतिष्ठानमा पनि असर परेको छ । यी क्षेत्रका सुरक्षाकर्मीको सहकार्यमा बन्द खुलाउने र यातायातलाई सुचारू गर्ने प्रयास गरिएककको प्रहरीले जनाएको छ । त्यस्तै कुनै पनि ठाउँमा भेटिएका शंकास्पद वस्तु न छुन र तुरुन्तै प्रहरीलाई खबर गर्न प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

 

यता, विवेकशील साझा पार्टीका कार्यकर्ताले बिहीबार आह्वान गरेको बन्दमा पोखराको पृथ्वीचोकमा राष्ट्रिय झन्डाका साथ ‘बन्द विकल्प हैन समाधान खोजौँ’ बन्ने कार्डसहित उपस्थित भएका छन् ।

नेकपा नेत्र विक्रम चन्द विप्लव नेपाल बन्द

विशेष