अतिरिक्त शुल्कको विरोध गर्ने किस्ट मेडिकल कलेजका ५० विद्यार्थी फेल
काठमाडौं । सरकारले तोकेकोभन्दा बढी शुल्क तिर्न नमान्ने करिब ५० विद्यार्थीलाई ललितपुरस्थित किस्ट मेडिकल कलेजले आन्तरिक परीक्षामा फेल गराएको छ । आन्तरिक परीक्षामा फेल भएका विद्यार्थी बोर्डको परीक्षाबाट वञ्चित हुन्छन् । यसबारे उजुरी परेपछि नेपाल मेडिकल काउन्सिलले अनुसन्धान गरिरहेको छ ।
पटकपटक अतिरिक्त शुल्क लिँदै आएको कलेजले १०औँ ब्याचका विद्यार्थीलाई थप ९० हजार ९७ रुपैयाँ बुझाउन गत २७ असोजसम्मको अल्टिमेटम दिएको थियो । त्यसका विरुद्ध विद्यार्थीले २४ असोजमा जिल्ला प्रशासन कार्यालय ललितपुर, नेपाल मेडिकल काउन्सिल र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)मा हस्ताक्षरसहित न्याय माग्दै उजुरी दिएका थिए ।
अतिरिक्त शुल्क नदिए परीक्षा फर्म नै भर्न नदिने कलेजको चेतावनी दिएकाले हस्तक्षेपका लागि जिल्ला प्रशासन गुहार्नुपरेको उनीहरूको भनाइ छ । तर, समस्या समाधान गर्नुको सट्टा कलेज सञ्चालकहरूले उजुरी दिने विद्यार्थीका नाममा मात्र चासो राखेका थिए । ‘कलेज सञ्चालकहरू उजुरी गर्ने विद्यार्थीको नाम खोज्दै आएका थिए, विद्यार्थीले नाम नलेखी हस्ताक्षर मात्र गरेका थिए, नामै भए पनि हामीले दिने कुरै भएन,’ ललितपुर जिल्ला प्रशासनका नासु तेजप्रसाद दाहालले भने ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा प्रहरीसहितको टोली कलेज पुगेर छलफल गरेपछि कलेजले विद्यार्थीसँग अतिरिक्त रकम नलिने सहमति भएको थियो । त्यही आधारमा विद्यार्थीले आन्तरिक परीक्षा दिन पनि पाए । तर, उजुरी दिने विद्यार्थी छानीछानी कलेजले फेल गराएको छ । कापी जाँच्ने शिक्षकले पास गराइसकेका विद्यार्थीलाई कलेज सञ्चालकले फेल गराएका थिए । यसरी विद्यार्थीमाथि अन्याय भएको भन्दै दुई प्राध्यापक डा। सुदीप आचार्य र डा। अमिता प्रधानले राजीनामा दिएका छन् ।
‘किस्ट कलेजले बढी शुल्क लिन खोजेपछि विद्यार्थी उजुरी दिन जिल्ला प्रशासन कार्यालय र चिकित्साशास्त्र अध्ययन संस्थान आइओएम पुगेका रहेछन् । उजुरी दिने विद्यार्थी पहिचान गरी कलेजले परीक्षामा फेल गराएको भेटियो,’ काउन्सिलका अधिकारीले भने । कलेजको आन्तरिक परीक्षामा फेल भएका विद्यार्थीले काउन्सिलमा उजुरी गरेका छन् ।
मेडिकल काउन्सिल स्रोतका अनुसार आन्तरिक परीक्षाको नम्बर शिक्षकले दिनुपर्नेमा किस्टमा सञ्चालकले दिएको खुलेको छ । उजुरी दिने विद्यार्थी पहिचान गरेर सञ्चालक आशिष थापालगायतले नै फेल हुनेगरी नम्बर दिएको काउन्सिल स्रोतले जनाएको छ । कलेजले मंसिर अन्तिम र पुसको सुरुतिर पहिलो वर्षको आन्तरिक परीक्षा लिएको थियो । त्यसको १५–२० दिनको अन्तरमा दोस्रो वर्ष र माघको अन्तिम र फागुनको सुरुतिर तेस्रो वर्षको आन्तरिक परीक्षा लिएको थियो । विश्वविद्यालयले लिने अन्तिम परीक्षा पनि फागुन अन्तिम वा चैतको सुरुतिर हुन्छ । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
किस्ट मेडिकल कलेज फेल