News

मर्यादाक्रममा अब पूर्वमन्त्री सांसदभन्दा तल 

मर्यादाक्रममा अब पूर्वमन्त्री सांसदभन्दा तल 

काठमाडौं । सरकारले आफ्ना नाममा रहेको र रेडियो नेपाललाई मोही कायम गरिएको ललितपुरको खुमलटारस्थित १ सय १८ रोपनी जग्गामा सूचना पार्क स्थापना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्‍को मंगलबारको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए  । बैठकले राष्ट्रिय मर्यादाक्रम संशोधन गरेको छ । संशोधित मर्यादाअनुसार वर्तमान सांसदभन्दा पूर्वमन्त्रीहरू तल रहने छन् । त्यस्तै, सरकारले १३२र३३ केभी सुनवल स्टेसन, दोर्दी कोरिडोर १३२ केभी प्रसारण लाइन, निलगिरि खोला २ क्यासकेड जलविद्युत् आयोजना निर्माण र सान्जेन (माथिल्लो) १३२ केभी प्रसारण लाइन निर्माणका लागि वन प्रयोग गर्न दिने निर्णय गरेको छ ।

 

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको रिक्त कार्यकारी निर्देशकमा मोरङ, सुन्दरहरैंचा( ६ का पीतकुमार श्रेष्ठलाई पाँच वर्षका लागि नियुक्त गरिएको छ । औद्योगिक व्यवसायसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ संघीय संसदमा पेस गर्न स्वीकृति दिइएको छ । सरकारले संघको पदमा समायोजन भएका राजपत्रांकित प्रथम श्रेणी वा सोसरहका सरकारी कर्मचारीलाई समान सेवा र श्रेणीमा पदस्थापन गर्ने, अवैध हातहतियार तथा खरखजाना नियन्त्रण गर्न सूचना जारी गर्ने, सरकारी सार्वजनिक जग्गा हिनामिनासम्बन्धी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने र ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वको इलाम दरबार इलाम नगरपालिकालाई हस्तान्तरण गर्ने निर्णय गरेको छ । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

पूर्वमन्त्री मन्त्रिपरिषद्

विशेष