News

दुई हवाईजहाज चार्टर गरेर जन्ती, साढे ७ लाख खर्च

दुई हवाईजहाज चार्टर गरेर जन्ती, साढे ७ लाख खर्च

धनकुटा । जन्ती जाँदा गाडी रिजर्भ गरेर जाने चलन सामान्य हो । तर, यहाँका एक व्यक्तिले छोराको जन्ती जानेक्रममा ६९ जन्तीलाई दुई वटा हवाईजहाज चार्टर गरेका छन् । महालक्ष्मी नगरपालिका ९ का नगेन्द्र थापाका छोरा दिनेशको विवाहका क्रममा जीतपुरबाट काठमाडौँमा जन्ती आतेजातेक्रममा बुधवार चार्टर गरिएको प्लेनमा सवार जन्ती । जसमध्ये अधिकांश जेष्ठनागरिक पहिलो पटक काठमाडौँको यात्रामा थिए ।  

 

महालक्ष्मी नगरपालिका ९ का नगेन्द्र थापाका छोरा दिनेशको विवाहका क्रममा जीतपुरबाट काठमाडौँमा जन्ती आतेजातेका लागि बुधबार हवाईजहाज चार्टर गरिएको हो। जसमा पहिलोपटक काठमाडौँ जाने ४० ज्येष्ठ नागरिकसमेत जन्ती भएर गएका छन्। थापाले आफ्नै निवास रहेको जीतपुरबाट विराटनगर विमानस्थलसम्म तीन वटा गाडीमा जन्ती लगेका थिए। विराटनगरबाट काठमाडौँ गएर साँझ पुनः बुद्ध र सिम्रिक एयर चार्टर गरेर हवाईजहाजमा जन्ती विराटनगर आएको थापाले बताए। ज्येष्ठ नागरिकलाई काठमाडौँ भ्रमण गराउने मुख्य उद्देश्यले जन्तीको रूपमा प्लेन चार्टर गरेर लगेको हुँ’ उनले भने, ‘छोराको जन्ती भएर गाउँघरका अधिकांश ज्येष्ठ नागरिक भ्रमण गराउन पाएकोमा खुसी लागेको छ।’

 

७५ वर्षीय दिलबहादुर पौडेलले पहिलो पटक काठमाडौँ पुग्दा निकै दङ्ग परेको बताए। जन्ती भएर दौरा सुरुवालमा ठाँटिएका पौडेलले जहाजसमेत पहिलो पटक चढेको बताए। एकै दिनमा विराटनगर–काठमाडौँ हवाईजहाज चढेर आतेजाते गर्दाको क्षण जीवन सुखद रहेको प्रतिक्रिया दिए।

 

‘मैले त सोचेकै थिइन यस्तो अवसर आउला भन्ने’ उनले भने, ‘पिलेनबाट तल हेर्दा रिँगटा लागे जस्तो भए पनि असाध्यै रमाइलो भयो।’ पौडेलजस्तै ६८ वर्षीय चक्रबहादुर कार्कीले पनि काठमाडौँ देख्न पाउँदाको खुसी भुल्नै नसक्ने बताए। अर्का ज्येष्ठ नागरिक पदमबहादुर खड्काले पनि पहिलो पटक जहाज चढेर काठमाडौँ पुग्दा रमाइलो भएको बताए।

 

जन्तीको रूपमा महालक्ष्मी नगरपालिकाका मेयर परशुराम नेपाल, शिक्षा समन्वय ईकाइ प्रमुख रामबहादुर थापा, उद्योग वाणिज्य सङ्घका अध्यक्ष उमेश घिमिरेलगायत जनप्रतिनिधिहरू पनि गएका थिए। जहाज चढेर जन्ती भएर सिँगारिएको भव्य होटलमा पुग्दा अधिकांश दङ्ग देखिएको जन्तीका रूपमा गएका महालक्ष्मी नगरपालिका मेयर नेपालले बताए। ६९ जना मध्ये अधिकांश पहिलो पटक जहाज चढेका थिए।

 

दुबैतर्फ आतेजाते चार्टर गर्दा साढे सात लाख रुपैयाँ खर्च भएको नगेन्द्रले जानकारी दिए। अलैंची खेती र व्यावसायिक पशुपालन गर्दै आएका उनले गाउँभरिका ज्येष्ठ नागरिकलाई आफ्नै खर्चले भ्रमण गराउने पहिले देखिको मनोकांक्षा रहेकोले जन्तीको अवसर पारेर इच्छा पूरा गरेको बताए।  यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

धनकुटा हवाईजहाज चार्टर जन्ती

विशेष