विदेश

ट्रम्पलाई आफ्नै पार्टीका सिनेटरबाट धक्का, पर्खाल परियोजनाको विपक्षमा मतदान

ट्रम्पलाई आफ्नै पार्टीका सिनेटरबाट धक्का, पर्खाल परियोजनाको विपक्षमा मतदान

संयुक्त राज्य अमेरिकाको संसदको माथिल्लो सदन सिनेटले दक्षिणी सिमानामा पर्खाल बनाउनको लागि रकमको जोहो गर्न राष्ट्रपति डोनल्ड ट्रम्पले घोषणा गरेको राष्ट्रिय संकटकाल उल्ट्याउने पक्षमा मतदान गरेको छ। केही रिपब्लिकन सिनेट सदस्यहरूले विद्रोह गरेपछि राष्ट्रपति ट्रम्पलाई अप्ठ्यारो परेको छ। 

 

आफ्नो पार्टीको निर्देशनविपरीत तथा राष्ट्रपतिको आदेशको विपक्षमा १२ जना रिपब्लिकन सिनेट सदस्यहरूले मतदान गरिदिएपछि ट्रम्पको योजना प्रभावित हुने अवस्था आएको हो। ट्रम्पले एक ट्विट सन्देशमा आफूले अब विशेष अधिकार (भिटो) प्रयोग गरेर भए पनि आफ्नो योजना सफल पारिछाड्ने प्रतिक्रिया दिएका छन्। 

 

तर, विपक्षी डेमोक्रयाटिक पार्टीको वर्चश्व रहेको प्रतिनिधिसभाका डेमोक्रयाटिक पार्टीका नेताका एक सहयोगीले राष्ट्रपतिको कदम फेरि सदनबाट उल्टिइने बताए। सिनेटमा डेमोक्रयाटिक पार्टीका नेता चक शुमरले राष्ट्रपतिको विपक्षमा मतदान गर्ने सत्तारुढ दलका सिनेटरहरूलाई धन्यवाद ज्ञापन गरे। 

 

उनले भने, “रिपब्लिकनहरूले आफू साहसी भएर हो, या सिद्धान्तमा अडिग भएर हो, या त आकुल व्याकुल भएर हो आफ्ना राष्ट्रपतिले सीमा नाघ्न खोज्दा उहाँलाई ठाउँमा ल्याउन थालेका छन् ।” विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अमेरिकी विज्ञहरूलाई उद्धृत गरी भनेका छन्, “रिपब्लिकन पार्टीका सिनेटरहरूले गरेको यो ठूलो विद्रोह हो र यो ट्रम्पका लागि एक प्रकारको धक्काको रूपमा आएको छ ।” 

 

उनीहरूका अनुसार यो कदम पर्खाल योजनाप्रति सिनेटरको विरोध नभएको तर कंग्रेसको संवैधानिक अधिकार मिचेर संकटकाल घोषणा गर्ने राष्ट्रपति ट्रम्पको कदमप्रति क्रुद्ध भएपछि आएको स्वतन्त्र निर्णय थिए । पर्खाल परियोजनाका लागि आवश्यक पर्ने सबै रकम दिन कंग्रेस तयार नभएपछि ट्रम्पले संकटकालको बाटो रोन्ने बताउँदै आएका थिए ।

डोनाल्ड ट्रम्प

विशेष