विदेश

पाकिस्तानबाट आज रिहा हुँदै भारतीय विंक कमाण्डर अभिन्नदन

पाकिस्तानबाट आज रिहा हुँदै भारतीय विंक कमाण्डर अभिन्नदन

एजेन्सी : पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय हवाइ सेनाका विंग कमाण्डर अभिन्नदन शुक्रबार रिहा हुँदैछन्। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बिहीबार दिउँसो संयुक्त संसदलाई सम्बोधन गर्दै पाकिस्तानी नियन्त्रणमा रहेका हवाइ सेनाका पाइलटलाई शान्तिस्वरूप रिहा गर्न लागिएको बताएका थिए।

 

बुधबार भएको हवाइ आक्रमणका क्रममा पाइलटलाई पाकिस्तानले नियन्त्रणमा लिएको थियो। नियन्त्रणपछि भारतीय पक्षले बिनाशर्त उनलाई छोड्न सन्देश पठाएको थियो। यसअघि पाकिस्तानी विदेशमन्त्रीले पनि भारत र पाकिस्तानको सम्बन्ध सुदृढ हुन्छ भने नियन्त्रणमा रहेका पाइलटलाई छोड्न तयार रहेको बताएका थिए।

 

पाकिस्तानले भारतीय पाइलट अभिन्नदनलाई बिना शर्त छोड्न लागेको हो। अभिन्नदनलाई लिनका लागि उनका बुबाआमा दिल्ली पुगेका थिए। उनहरूलाई दिल्लीमा दिल्लीबासी र सरकारी अधिकारीहरूले भव्य स्वागत गरेका थिए। अबेर राति दिल्ली पुगेका उनीहरू फ्लाइट परिवर्तन गरेर अमृतसर तर्फ लागेका छन्।

 

विंग कमाण्डर अभिन्नदनलाई शुक्रबार पाकिस्तानी वाघा बोर्डरमार्फत स्वदेश फिर्ता गरिँदै छ। उनलाई लिनका लागि भारत सरकारका प्रतिनिधि, भारतीय वायु सेनाको एक प्रतिनिधि मण्डल शुक्रबार वाघा बोर्डरमा जाँदैछ। तर पाकिस्तानले अभिन्नदनलाई अन्तर्राष्ट्रिय रेडक्रसलाई जिम्मा लगाउँछ कि भारतीय अधिकारीलाई भन्ने तय भएको छैन।

 

पाकिस्तानको उक्त कदमले भारत र पाकिस्तानबीचको तनाव कम गर्ने अपेक्षा लिइएको छ। यद्यपि नयाँ दिल्लीमा भएको भारतीय थल सेना जल सेना र नौसेनाका शीर्ष अधिकारीहरूको एक संयुक्त मिडिया ब्रिफिङमा सशस्त्र कुनै पनि प्रकारको सुरक्षा चुनौतीको सामना गर्नका लागि हाइ अलर्टमा रहेको बताइएको थियो।

पाकिस्तान भारत

विशेष