News

उपराष्ट्रपति पुन लैनचौर सर्दै

उपराष्ट्रपति पुन लैनचौर सर्दै

काठमाडौं । उपराष्ट्रपतिको कार्यालय एक महिनापछि बहादुरभवन कान्तिपथबाट लैनचौरस्थित नयाँभवनमा सर्ने भएको छ । सरकारले गत वर्ष जेठमा समाज कल्याण परिषद्ले प्रयोग गर्दै आएको सो भवनलाई उपराष्ट्रपतिको आवासीय सुविधासहितको कार्यालय बनाउने निर्णय गरेको थियो । उपराष्ट्रपति कार्यालयका प्रवक्ता तेजराज पाण्डेले नयाँ वर्ष–२०७६ को दिन पारेर सर्ने योजना हो, तर त्यो दिनमा सम्भव नभएपछि बैशाख १५ गतेसम्म सरिसक्ने तयारी भइरहेको जानकारी दिए । 


समाज कल्याण परिषद् फागुन २२ गतेबाट ललितपुर पुल्चोकस्थित केन्द्रीय बालकल्याण समितिको भवनमा सरिसकेको छ । उपराष्ट्रपतिको आवास तथा कार्यालय निर्माण तथा सुरक्षा व्यवस्थापनका लागि भवन निर्माण कार्य जारी रहेको छ ।नयाँ कार्यालय मुख्य सडकसँगै भएकाले पर्खाल अग्लो र सुरक्षित बनाउने, सुरक्षा निकायका लागि आवासगृह (ब्यारेक) निर्माण तथा उपराष्ट्रपति आवास र कार्यालय निर्माण कार्य तीव्र गतिमा भइरहेको जानकारी प्रवक्ता पाण्डेले दिए । सवारी सञ्चालनका लागि उत्तर र पूर्वी मोहडामा गरी दुईटा प्रवेशद्वारको व्यवस्था गरिएको छ । उत्तरी मोहडाको पुरानोलाई मुख्य प्रवेशद्वार र पूर्वतर्फको प्रवेशद्वारलाई वैकल्पिक रुपमा प्रयोग गरिने भएको छ । 

 

करिब २८ रोपनी १४ आना जमिनमा कलात्मकशैलीको चारतले पुरानो भवन रहेको छ । यो भवनको चौथो र तेस्रो तल आवास र दोस्रो तला र भुइँतला कार्यालय सञ्चालनमा प्रयोग हुने बताइएको छ ।  उपराष्ट्रपतिको कार्यालय आयोजना हुने औपचारिक सभा समारोह र कार्यक्रम सञ्चालनका लागि एउटा छुट्टै ‘अडिटोरियम’ हल निर्माण गर्ने तयारी भइरहेको छ । 

 

सर्वसाधारण तथा सवारीसाधनको बाक्लो ओहोरदोहोर हुने सडक नजिक कार्यालय भएकाले बाहिरी पर्खाल १२ फिट अग्लो र त्यसमाथि काँडे तारजालीसहित चारै दिशामा सीसी क्यामेरा जडान गरिँदै छ । एक दर्जन सुरक्षा डिउटी पोस्टहरु स्थापना गरिएको छ ।  पुरानो भए पनि भूकम्प प्रतिरोधक भवनलाई रङरोगन गरी कलात्मक र सुविधायुक्त बनाइँदै छ उपराष्ट्रपति कार्यालयका प्रवक्ता पाण्डेले भन्नुभयो, जनशक्ति पनि थारै भएकाले आवासीय सुविधासहितको उपराष्ट्रपति कार्यालय सञ्चालन गर्न लैनचौर उपयुक्त नै छ । कार्यालयको प्रवेशद्वार नजिक बसस्टप (पिक एन्ड ड्रप) र प्रतीक्षालय भएकाले सो स्थानलाई चार मिटर अगाडि सार्न आग्रह गरिसकेको छ । सुरक्षाको दृष्टिकोणले प्रतीक्षालय र बसस्टप सार्न पर्ने भएकाले सम्वन्धित निकायलाई आग्रह गरिएको उनले बताए । यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो ।
 

उपराष्ट्रपति लैनचौर

विशेष