News

मकवानपुरमा ४२ हजार कुखुरामा बर्डफ्लु देखिएपछि चितवनमा उच्च सतर्कता

– नारायण अधिकारी

मकवानपुरमा ४२ हजार कुखुरामा बर्डफ्लु देखिएपछि चितवनमा उच्च सतर्कता

चितवन । छिमेकी जिल्ला मकवानपुरमा कुखुरामा बर्डफ्लु देखिएपछि जिल्लामा उच्च सतर्कता अपनाइएको छ । पोल्ट्रीको राजधानी मानिने यस जिल्लामा भित्रने नाकाहरुमा पक्षी जन्य वस्तु आयातमा कडाइ गरिएको छ भने कृषकलाई जैविक सुरक्षामा ध्यान दिन अनुरोध गरिएको छ ।

 

हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीको विभिन्न स्थानका कृषकले पालेका कुखरा बर्डफ्लु रोगबाट प्रभावित देखिएको थियो । स्थानीय नागस्वती क्षेत्रका विभिन्न स्थानमा कृषकले पालन गरेका ठूला कुखुरा र साना चल्ला गरी ४१ हजार ७६५ पशुपक्षीलाई शनिबार काठमाडौँबाट आएका चिकित्सकको प्राविधिक टोलीले नष्ट गरी खाल्टोमा पुर्ने तयारी गरिएको जिल्ला पशुसेवा कार्यालय मकवानपुरले जनाएको छ । 

 

यता, भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चितवनका निमित्त प्रमुख डा. पर्शुराम फुयालले यस जिल्ला हुँदै राजधानी र बाहिरी जिल्लामा कुखुरा जन्य पदार्थ धेरै आवतजावत गर्ने हुदाँ क्वारेन्टाइनमा कडाइका साथ चेकजाँच थालिएको बताए । उनले भने, 'मकवानपुरमा बर्डफ्लु देखिएपछि जिल्ला छिर्ने नाकामा क्वारेन्टाइनलाई विशेष चेकजाँचका लागि निर्देशन दिइएको छ ।' अहिले जिल्लाका १५० कुखुराका नमूना परीक्षणका लागि काठमाडौँ पठाइएको उनले बताए ।

 

बर्डफ्लु संक्रमण हुन सक्ने देखिएकाले व्यवसायीलाई जैविक सुरक्षामा ख्याल गर्दै काम गर्न आग्रह गरिएको उनले बताए । जिल्लामा बर्डफ्लु भित्रने सम्भावना प्रवल रहेको बताउँदै उनले चाँडै जिल्ला बर्डफ्लु नियन्त्रण प्राविधिक समितिको बैठक राखेर सबैलाई यसको विषयमा जानकारी गराइने बताए ।

 

देशका विभिन्न जिल्लामा जाने मुख्य राजमार्ग नै चितवन हुँदै जाने भएकाले यहाँका व्यवसायी अझै सतर्क हुन आवश्यक रहेको उनले बताए । राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा. दयाराम चापागाईंले हरेक हप्ता दुई दिन यहाँ नमूना संकलन गरी केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर पठाउने गरेको बताए ।

 

नियमित रुपमा नमूना संकलन भई रहेको भए पनि हालसम्म ‘लो प्याथोजेनिक एच नाइन’ मात्र देखिएको जानकारी दिए । देशका विभिन्न क्षेत्रबाट लो प्याथोजेनिक शंकास्पद देखिएमा यहाँ नमूना परीक्षण गर्ने गरिन्छ । थप शंका लागेमा यहाँबाट केन्द्रीय प्रयोगशालामा पठाइँदै आएको छ ।

 

जिल्लामा लो प्याथोजेनिक अर्थात् एच नाइनका कारण धेरै कुखुरा मरे पनि हाई प्याथोजोनिक अर्थात् एच फाइभ भने नदेखिएको उनले बताए । नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले मकवानपुरमा रोग देखिएसँगै देशभरका कृषकले जैविक सुरक्षामा विशेष ध्यान दिएको बताए । संघले सदस्यलाई रोग भित्रन नदिन विशेष चनाखो हुन आग्रह गरेको बताए ।

 

नेपालमा कुखुरा जन्य क्षेत्रमा एक खर्बभन्दा बढी लगानी भई सकेको भन्दै उनले एक मात्र आत्मनिर्भर उद्योग भएकाले स्वयं कृषक र सरकारले व्यवसाय बचाउन सहयोग गर्नुपर्ने बताए । रोग भित्रन नदिन अपनाउनुपर्ने मुख्य विधि जैविक सुरक्षा हो । यो विधि कुखुरामा कुनै प्रकारको रोगका किटाणुको प्रवेश र फैलावट रोक्नको लागि अवलम्बन गरिन्छ । पोल्ट्री व्यवसायी मञ्चका कार्यकारी निर्देशक शिव बरालका अनुसार नेपालमा दैनिक ५० लाखभन्दा बढी अण्डा उत्पादन हुने गरेको छ ।

 

दैनिक ब्रोइलर मासु आठ लाख ५० हजार किलो उत्पादन हुने गर्दछ । बरालका अनुसार हप्तामा ब्रोइलर कुखुराको चल्ला २७ लाख र लेयर्सको चल्ला तीन लाख उत्पादन हुँदै आएको छ । देशको कुखुराजन्य पदार्थको आधा चितवनमा उत्पादन हुने गर्दछ ।

 

पोल्ट्री व्यवसायी मदन पोखरेलका अनुसार यो व्यवसायले एक लाख ८० हजारलाई प्रत्यक्ष रोजगारी दिएको छ भने कूल ग्राहस्थ उत्पादनमा चार प्रतिशत योगदान पुर्‍याउँदै आएको छ । अण्डा उत्पादक संघका केन्द्रीय सचिवसमेत रहेका पोखरेलले सबै कृषकलाई विशेष चनाखो भएर जैविक सुरक्षा विधि अपनाउन आग्रह गरिएको बताए ।

 

यसअघि बर्डफ्लु भित्रदा कृषकले ठूलो नोक्सानी बेहोरेका थिए । पहिले पहिले भारतमा बर्डफ्लु देखिदासमेत नेपालमा खपतमा कमी आएको भए पनि पकाएर खाँदा असर नपर्ने भएपछि जिल्लामा नै रोग देखिदासमेत खपतमा भने कमी नआउने गरेको पोखरेलले बताए ।

बर्डफ्लू

विशेष