News

बुटिक विमानस्थलको उद्घाटन २०२० को जनवरी १ मा

बुटिक विमानस्थलको उद्घाटन २०२० को जनवरी १ मा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई वैशाखबाट बुटिक बनाइने भएको छ। यो विमानस्थललाई बुटिक बनाउन सरकारले प्रारम्भिक तयारीसहित औपचारिक रूपमा काम अगाडि बढाइरहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक बनाउन सरकारले फागुन २८ गते ‘बुटिक विमानस्थलसम्बन्धी कार्यविधि’ स्वीकृत गरेको हो।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले दुई चरणमा विमानस्थललाई बुटिक बनाइने जानकारी दिए। पहिलो चरणमा चैत मसान्तभित्र अवधारणा तयार गर्ने, सौन्दर्र्यकरण, विमानस्थलको डिजाइन र अनुकूल नभएका संरचना भत्काउने, कलात्मक मूर्ति, पेन्टिङ खरिदलगायत काम हुनेछ।

 

दोस्रो चरणको काम वैशाख १ गतेबाट गरिनेछ। यस्तो काममा विमानस्थललाई बुटिक बनाउन आवश्यक संरचना थप गर्ने, नयाँ संरचना बनाउने, उपयुक्त स्थानमा नेपाली कला झल्किने मूर्ति तथा सौन्दर्यकरण हुनेछ। विमानस्थलको नीतिगत तथा व्यावहारिक काम सम्पन्न गर्ने र सन् २०२० को जनवरी १ मा बुटिक विमानस्थलको उद्घाटन गर्ने गरी सरकारले तयारी अगाडि बढाएको उपाध्यायले बताए।

 

बुटिक विमानस्थल बनाउन पर्यटनमन्त्रीको अध्यक्षतामा गृह, अर्थ, भौतिक मन्त्रालय, उड्डयन प्राधिकरणसहित आठ सदस्यीय निर्देशक समिति बन्नेछ। विमानस्थलमा भएको कामको नियमित अनुगमन तथा सुपरिवेक्षणका लागि पर्यटन सचिवको अध्यक्षमा अर्को ६ सदस्यीय अनुमगन समिति बन्नेछ।

 

त्रिभुवन विमानस्थलका महाप्रबन्धकको संयोजकत्वमा तोकिएको र लक्ष्यअनुसारको काम भएरनभएको मूल्यांकन गर्न ६ सदस्यीय कार्य सम्पदान समिति बन्ने व्यवस्था कार्यविधिले गरेको छ। सरकारले सन् २०२० लाई विदेशी पर्यटक आकर्षण गर्न नेपाल भ्रमण वर्ष मनाउँदै छ। भ्रमण वर्षको सुभारम्भकै दिन बुटिक एयरपोर्टको उद्घाटन गर्ने गरी कार्यविधि जारी भएको उपाध्यायले बताए। यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो ।

त्रिभुवन विमानस्थल बुटिक विमानस्थल

विशेष