विदेश

चियावाला मोदीको 'म पनि चौकीदार' अवतार [भिडियो]

चियावाला मोदीको 'म पनि चौकीदार' अवतार [भिडियो]

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टी (बिजेपी)को 'म पनि चौकीदार' अभियानको शनिबार सुरुवात गरेका छन्। सबै भारतीय नागरिक कसरी चौकीदार हुन् भन्ने बारेमा तयार पारिएको भिडियो ट्वीटरमा सार्वजनिक गरेर उनले अभियानको सुरुवात गरेका हुन्।

 

'तपाईका चौकीदारहरु देशभरि सेवा गरिरहेका छन्, म एक्लो छैन । हरेक व्यक्ति जो भ्रष्टाचार, गलत काम, सामाजिक विकृतिका विरुद्धमा लड्छन्, ती सबै चौकीदार हुन्,' उनले भनेका छन्। प्रधानमन्त्री मोदीले देशको प्रगतिका लागि कडा मिहनेत गर्नेहरुलाई पनि चौकीदारको संज्ञा दिँदै आज भारतका सबै नागरिकले म पनि चौकीदार हुँ भन्ने गरेको बताए।

 

अघिल्लो पटक सन् २०१४ मा भएको निर्वाचनमा आफू चौकीदार बन्न चाहेको बताएका मोदीले अहिले फेरि त्यही चौकीदारको विषयलाई अभियानको रुपमा सुरु गरेका हुन्। चौकीदारले पैसा र सम्पत्तिको सुरक्षा गरे झैं आफूले देशको संरक्षण गर्न चाहेको उनको भनाई छ।

 

कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले “चौकीदार चोर भयो” भन्ने टिप्पणी गरेपछि बिजेपीले त्यसको सर्वेक्षण गर्दा धेरै मान्छे चौकीदारको पक्षमा देखिएकाले “म पनि चौकीदार” अभियान उनले सुरु गरेका हुन्।

 

सर्वेक्षणले चौकीदारलाई होच्याइएकामा धेरै जना रिसाएको पनि देखाएको अधिकारीहरूले जनाएका छन्। यसअघिको निर्वाचनमा प्रधानमन्त्री मोदीलाई “चियावाला” को रुपमा पनि यसैगरी प्रचार गरिएको थियो । त्यो पनि सकारात्मक र प्रभावकारी भएको थियो ।

 

भारतमा यही मार्च ३१ देखि निर्वाचन हुन लागेकाले निर्वाचनको दिन नजिकिदै जादा प्रचार प्रसार पनि तीव्र हुन थालेको छ ।

नरेन्द्र मोदी म पनि चौकीदार

विशेष