News

सरकारी स्कुलमा ६ शिक्षक मध्ये ५ जना एकै परिवारका!

सरकारी स्कुलमा ६ शिक्षक मध्ये ५ जना एकै परिवारका!

महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका–६ मगरथानास्थित नेवालाल राष्ट्रिय आधारभूत विद्यालय एउटै परिवारका सदस्यले जागिर खाने केन्द्र बनेको छ । विद्यालयका ६ मध्ये पाँच शिक्षक र एक लेखा कर्मचारी एउटै परिवारका सदस्य हुन् । यो विद्यालय स्थानीयस्तरमा ‘पारिवारिक विद्यालय’का नामले चिनिन्छ ।प्रधानाध्यापक सीताशरण यादव स्थायी शिक्षक हुन् । उनकी छोरी संगीता यादव बालविकास कक्षाकी अस्थायी शिक्षिका हुन् ।

 

यस्तै, लेखा कर्मचारी अरविन्द यादव सीताशरणका ज्वाइँ हुन् । उनले निजी स्रोतमा जागिर खाएका छन् । अस्थायी शिक्षक वीरेन्द्र यादव र राहत शिक्षक धर्मेन्द्र यादव विद्यालयका तत्कालीन व्यवस्थापन समिति अध्यक्ष विश्वेश्वर यादवका भतिजा हुन् । जब कि प्रअ सीताशरण विश्वेश्वरका फुपूका छोरा हुन् । बालविकासकी अस्थायी शिक्षिका चन्द्रिका यादव धर्मेन्द्रकी श्रीमती हुन् । अर्की राहत शिक्षक सावित्री यादव मात्रै बेग्लै परिवारकी हुन् । तर, प्रअ सीताशरण सबै शिक्षक–शिक्षिकालाई विद्यालय व्यवस्थापन समितिकै निर्णयअनुसार प्रक्रिया पुर्याएरै राखिएको बताउँछन् ।

 

 
विद्यालयको अवस्था दयनीय छ । गाउँपालिकामै सबैभन्दा कमजोर छ यो स्कुल । स्थानीय तहको मातहत आइसकेपछि हामीले शिक्षा कार्यविधि बनायौँ । हाजिर मात्रै गरेर तलब खाने शिक्षकलाई कारबाही गर्न खोज्दा हामीविरुद्ध नै मुद्दा हालिएको छ । शिक्षा कार्यविधिविरुद्ध उनीहरूकै निकटका शम्भु यादवले सर्वोच्च अदालतमा मुद्दा हालेकाले उल्टै महिनामा एकपटक तारेख लिन जानुपरेको छ ।

 

 
६ शिक्षक रहेको नेवालाल राष्ट्रिय आधारभूत विद्यालयमा पढ्न आउने विद्यार्थीको संख्या मुस्किलले २० पुग्छ । त्यसैले परिवारभित्रैका शिक्षक–शिक्षिका पालैपालो विद्यालय आउँछन् । नियमित २ जना मात्रै शिक्षक आउने गरेको स्थानीय बताउँछन् । प्रअ सीताशरण यादवले विद्यालयको पठनपाठन कमजोर रहेको स्वीकार गरे । ‘विद्यार्थी पढ्नै आउँदैनन् । हाम्रो स्कुलका वरिपरि निजी विद्यालय पनि छन्,’ यादवले भने । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

महोत्तरी आधारभूत विद्यालय

विशेष