संघीय लोकतान्त्रिक चाकरीतन्त्र जिन्दावाद !
नेपालआज ।नेपाली राजनीतिले छोडेका केही यस्ता ‘साईड इफेक्ट’ छन, जसले मानव सभ्यतामा पनि धावा बोलेको महशूस हुन्छ । नेताहरुका शीरमा हाल्न बनाइने सय, दुईसय, तीनसय किलोका चाकरी मालाप्रति आलोचना भइरहँदा विमानस्थलमा आइतबार अर्को भद्दा दृश्य प्रदर्शित भएको छ । विरामी पत्नीको उपचारका लागि विदेश जान लागेका प्रचण्डको चाकडीमा देखिएको यो भीड ‘राजा आउ, देश बचाउ’ शैलीभन्दा फरक थिएन । विरामीको स्वास्थ्यलाभ निहुँ भएपनि त्यो प्रचण्ड अगाडि पुगेर हाजिरा बजाउनेहरुको भीड थियो भन्दा अनुचित हुँदैन । कार्यकर्ता मात्र होइन, भीभीआईपी लन्जमा देखिने नेताहरुको उपस्थिति पनि त्यही मेसोको छ । पूर्व एमालेहरु जो भोलि प्रचण्ड मुखिया बन्दा पनि आफ्नो स्थान सुरक्षित राख्न चाहने एकखाले नेताहरुको मात्र बाक्लो उपस्थिति देखिने गरेको छ ।
नेपाली काँग्रेस मास बेस पार्टी हो भने कम्युनिष्ट क्याडर बेस पार्टी मानिछ । काँग्रेसमा संगठन गर्नेभन्दा नेताको परिक्रमा गर्नेहरुको भलो हुने गरेको छ । यदि नेताको नजरबाट केही समय ओझेलिएर गाउँमा गएर संगठन गर्यो भने उसले पार्टी छोडेको अर्थ लाग्ने गर्छ । कम्युनिष्टमा ठीक उल्टो तल्लो तह संगठनको जमिन मजबुत हुन्छ । गाउँ संगठनसंग नजोडिएको नेता केन्द्रीय राजनीतिमा नै आइपुग्दैन । त्यसैले त भनिन्थ्यो– ‘काँग्रेस आफैं बन्छ, कम्युनिष्ट बनाउनु पर्छ ।’ समयक्रमले त्यो विधि विधान उल्टाइदिएको छ ।
देश धर्मनिरपेक्ष छ । तर नेताहरुको मानसिकता गेरुवस्त्रधारी कर्मकाण्डी पण्डितको जस्तो बन्दैछ । नेतालाई चढाइने फूलमाला, खादा, अविर, लावालस्करले उनीहरुमा भगवान भएको भ्रम चढ्दै गएको देखिन्छ । देश, पार्टी र समाजको नभएर आफ्नो भक्त बनाउने प्रतिस्पर्धाको भोक सबैमा जाग्दै गएको छ । सामाजिक सञ्जाल स्वार्थका चस्मा पहिरिनेहरुको गरमागरम उपस्थिति यसैको परिणाम हो । कार्यकर्ताले काँधमा बोकेर खोला तार्नुपर्ने, छाता ओढाउने, रातो कार्पेट विछ्याउने यस्ता कार्यले उनीहरुमा लखनउ नबाब बन्दै गएको भ्रम जाग्छ । कार्यकर्तामा भने लखनउ लुटको लाइसेन्स प्राप्तिको उन्माद । नेताहरुमा देखिने कुम हल्लाउने, हेपेर बोल्ने, तालीमा अनावश्यक हौसिने त्यही वातावरणले दिएको उपज हो ।
यो तमासा अब प्रचण्ड अमेरिका उत्रिएपछि झन् तीन गुनाका दरले बढ्ने छ । कसले के स्पोन्सर गर्ने प्रतिस्पर्धा चल्नेछ । त्यसै पनि दुई पार्टी एकाकार भएको अवस्थामा नक्कली जोगीहरु खरानी घसेर धुलो टक्टक्याउन उपस्थित हुने नै भए । घरखेत बन्धकी राखेर खाडीमा गएको मजदुर त आफ्नो पहिलो महिनाको तलब नेताको टिकटका लागि चन्दा दिएर विमानस्थलमा खादासहित उभिएर एउटा सेल्फी दिएको तस्वीर फेसबुकमा अपलोड गरेपछि आफूलाई संसारको उत्कृष्ट ठान्छ भने यो त अमेरिकी परिवेश र प्रचण्ड उपस्थितिको सन्दर्भ हो ।
काँग्रेस सभापति कृष्णप्रसाद भट्टराई क्यानाडामा आँखाको उपचार गर्न गएका बखत सहायकको भूमिका निर्वाह गर्ने डा. नारायण खड्का त्यही नातो जोडेर केन्द्रीय राजनीतिमा स्थापित हुन सफल भए । प्रधानमन्त्रीको सल्लाहकार, राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदै हाल निर्वाचित सांसदको हैसियतमा उनी छन् । अमेरिका भ्रमणमा रहेका राजा महेन्द्र र त्यहीँ पढिरहेका विद्यार्थी भेषबहादुर थापाको भेट अन्ततः अवसरमा परिणत भयो । राजाले झिकाएर उनलाई सीधै सरकारको सचिव बनाए । भेषबहादुर नेपाली राजनीतिक लाभमा के भए भन्दा पनि के भएनन भन्नु चाहिँ उचित ठहर्छ । डा. प्रकाशचन्द्र लोहनी पनि फूलब्राईट छात्रवृत्तिमा अमेरिका दीक्षित हुन ।
समयक्रममा पञ्चायत राजनीतिमा तानिए । हातमा पैसा भएका तर सम्मान नपाएका थुप्रै नेपाली च्याँखेदाउको खोजीमा छन् । अझ विरामी भएका बखत त भावनाको व्यापार पनि प्रवल हुने सम्भावना रहन्छ । जुन कुरा अध्यक्ष दाहालले उपचारका विषयमा त्यहाँ रहेका विभिन्न व्यक्तिहरुसंग छलफल भइरहेको जानकारी पत्रकार सम्मेलनमा उल्लेख गर्नुभएको छ । एकातिर चाकरीतन्त्रको यो नाङ्गो तमासा र अर्कातिर विरामी कुटनीतिका रुपमा शक्तिकेन्द्रको खेलकुदले पनि यहाँको राजनीतिमा लहरो तान्दा पहरो थर्किने अवस्था छ । नेपाल हल्लाको मुलुक भन्नेमा त नेपाली नै असहमत हुने ठाउँ रहेन । गिरिजाप्रसाद कोइराला, केपी ओली र प्रचण्डसंग जब स्वास्थ्योपचारको प्रसंग जोडिन्छ, तब राजनीतिक खेलकूदका तरंग कामयाव हुने गर्छन ।
भेनेजुयलाको समर्थनमा अमेरिका विरुद्धको विषवमनपछि चिसो अमेरिकी सतर्कता र फेरि अमेरिकी सरकारको रातो कार्पेटलाई शंकाको दृष्टिले हेर्ने पण्डितको यहाँ कमी छैन । क्रान्तिलाई भ्रान्ति हुँदै आज्ञामा परिणत गर्ने प्रयोगवादी नेताका रुपमा अनुवाद हुँदै आएको प्रचण्डको इतिहासले पनि शंकाको घर गर्ने ठाउँ दिएको छ ।
एकपटक मुसोलिनी यति प्रिय थिए कि उनी जता जान्थे, जनताको भीड उतै लहरिन्थ्यो । आफूमाथि जनताको भरोसा देखेर यति हौसिए, उनी जनता अनुकूल आफू नभएर जनताको स्तर आफ्नो औकात बराबर खोज्न थाले । त्यसपछि ओरालो यात्रा शुरु भयो । तिनै अविरजात्रा गर्ने जनताले बीच सडकमा घिसारेर उनको तेजोवध गरे । स्वतन्त्र भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरु धर्तीमा नरहेको समाचार फैलनासाथ भारतमा के बृद्ध, के महिला, के बालक तिनै पुस्ताका मानिस कोकोहोला गर्दै सडकमा निस्किए । नेता ताली हौसिनु हुन्न । बरु मलामी बढाउने काम गर्नुपछ । जुन कर्मले चीरस्थायी बनाउन सकोस् ।