News भिडियो समाज

जनतालाई न्यूज रुममा जोड्न ‘पब्लिक न्यूज एजेन्सी’ जन्मियो

जनतालाई न्यूज रुममा जोड्न ‘पब्लिक न्यूज एजेन्सी’ जन्मियो

पब्लिक न्युज एजेन्सी ।

काठमाडौं ।  परम्परागत समाचार एजेन्सी भन्दा फरक ढंगको समाचार संकलन एवं वितरण गर्ने गरी पब्लिक न्युज एजेन्सीको आरम्भ भएको छ । 
मंगलबार काठमाडौंमा आयोजित एक विशेष समारोहमा पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले एजेन्सीको उद्घाटन गरे । सो अवसरमा नेता नेपालले नेपाली मिडियाले प्रजातान्त्रिक आन्दोलनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै भने, ‘सञ्चार क्षेत्रमा नयाँ अवधारणासहित समाचार एजेन्सीहरु थपिनु सुखद पक्ष हो । जनताको सुसूचित हुने अधिकार रक्षाका लागि पब्लिक न्युज एजेन्सीले प्रभावकारी भूमिका निर्वाह गर्ने आशा राखेको छु ।’

 

अहिलेको संविधानले प्रेसलाई पूर्ण स्वतन्त्रता प्रदान गरेको उल्लख गर्दै उनले मर्यादित, विश्वसनीय समाचार प्रवाह हुनुपर्नेमा जोड दिए । मिडियाकै कारण संसारमा ठूला परिवर्तन भएको उनले बताए । समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने मिडिया गलत दिशामा गए त्यसको मूल्य सम्पूर्ण समाजले नै चुकाउनु पर्ने भएकोले सञ्चारकर्मीहरु बढी जिम्मेवार हुन आवश्यक रहेको उनले उल्लेख गरे । 

कार्यक्रममा नेकपाका अर्का नेता योगेश भट्टराईले नेपाली मिडिया क्षेत्रमा अवसरसँगै चुनौती पनि थपिएको बताए । नेता भट्टराईले भने, ‘मिडिया क्षेत्रको दायरा फराकिलो हुँदै गएको छ । विकृति पनि थपिएको छ । विकृतिबाट मुध्, भएर व्यावसायिक पत्रकारिताले नै समाजलाई सही दिशा प्रदान गर्छ ।’
नेपालमा झण्डै ९५ लाख मानिस इन्टरनेटमा जोडिएको उनले बताए । यति धेरै मानिस समेटेको सञ्जालको नियमन र व्यवस्थापनमा विशेष ध्यान दिन आवश्यक रहेको उल्लेख गरे । 

पब्लिक न्युज एजेन्सीलाई सफलताको शुभकामना दिँदै प्रा.डा. सुरेन्द्र केसीले मिडियाको आँखा नखुलेसम्म कुनै पनि देशको भाग्य उदय हुन नसक्ने दावी गरे । उनले भने, ‘जबसम्म देशमा राजनीतिज्ञको चेतना खुल्दैन र मिडियाको आँखा खुल्दैन तबसम्म देशको मुहार फेरिँदैन । राजनीतिज्ञहरु आफ्नै स्वार्थमा रमाउने र मिडियाले खबरदारी नगर्ने हो भने देश सधै बिग्रिरहन्छ ।’

कार्यक्रममा नेपाल टेलिकमका प्रबन्धक डा.सुनिल पोखरेलले सत्य सूचना मात्रै समाचार हुन सक्ने धारणा राखे । उनले असत्य र भ्रामक समाचाले मिडियाको विश्वसनीयतामा ह्रास आउनले उल्लेख गरे । भारतमा इन्दिरा गान्धीको हत्याको विषयलाई लिएर मिडियाको गलत सन्देशका कारण १७ हजार मान्छेको हत्या भएको दृष्टान्त दिँदै मिडियाको भूमिका बढी संवेदनशील हुने उल्लेख गरे । 

कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादक संघका अध्यक्ष शैलेन्द्र गुरागाईले एजेन्सीको सफलताको शुभकामना व्यक्त गरे । पब्लिक न्युज एजेन्सीको प्रयोग विधिका विषयमा सहकर्मी हरिराम रिमालले जानकारी दिएका थिए । कार्यक्रममा स्वागत मन्तव्य क्याक्स्टन मिडिया प्रालीका प्रबन्ध निर्देशक माधवप्रसाद गुरागाईंले राखेका थिए । उदघाटन समारोहमा उद्योगी, व्यवसायी, नेपालस्थित विदेशी कुटनीतिक नियोगका प्रतिनिधि, बुद्धिजीवी लेखक पत्रकारलगायतको उपस्थिति रहेको थियो । 

 

 

 

 

 

 

 

 

 

 

विशेष