ताप्लेजुङ हेलिकोप्टर दुर्घटना : लापरबाहीले लियो ज्यान

ताप्लेजुङ हेलिकोप्टर दुर्घटना : लापरबाहीले लियो ज्यान

काठमाडौं । गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा निकायको सल्लाहअनुसार नै बेलायतको राजकीय भ्रमण स्थगित गरे। सेन्ट्रल सेक्युरिटी सर्भिस (सिसिएस) का अधिकारीको सल्लाहअनुसार ट्रम्पको पूर्वनिर्धारित बेलायत भ्रमण रद्द भयो।

 

–२०५४-५५ ताका राजा वीरेन्द्रको जोमसोम भ्रमण प्रतिकूल मौसमकै कारण कयौं पटक रद्द भएको त्यति बेला दरबारमा कार्यरत सुरक्षा अधिकारी बताउँछन्।

 

–२०६० सालमा राजा ज्ञानेन्द्र धादिङको सल्यानकोट मन्दिर दर्शन गर्नजाने पूर्वनिर्धारित कार्यक्रम माओदीबाट आक्रमण हुनसक्ने भन्दै अंगरक्षक विनोज बस्न्यातले दिएको सल्लाहअनुसार रद्द भयो। बेलैमा सुरक्षा सतर्कताबारे जानकारी गराएको भन्दै ज्ञानेन्द्रले बस्न्यातलाई धन्यवादसमेत दिएका थिए।

 

–राष्ट्रपति विद्यादेवी भण्डारी उपत्यकाबाहिर जाने पूर्वनिर्धारित कार्यक्रम सरकारप्रति स्थानीयका असन्तुष्टि, प्रतिकूल मौसम र अन्य विभिन्न कारण देखाउँदै सेनाले थुप्रै पटक रद्द गरिदिएको छ।

 

अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा सावधानीसँग जोडिएका यी केही तथ्य हुन्। तर पछिल्लो समय यस्तो आवागमनमा सावधानी नअपनाउँदा निकै दुःखदायी परिस्थिति सामना गर्नुपरेको छ। भिभिआइपी/भिआइपीका लागि बनाइएको सुरक्षा निर्देशिका पालनामा गम्भीर लापरबाही हुने गरेको पछिल्लो तथ्य प्रोटोकलको समेत ख्याल नगरी निजी हेलिकोप्टरमा सवार भएर बहालवाला मन्त्रीको दुर्घटनामा ज्यान जानुले पनि स्पष्ट हुन्छ।

 

केन्द्रीय सुरक्षा समितिबाट तय भएको सुरक्षा निर्देशिका पालना नगरेका कारण संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएको तथ्य खुलेको छ। मन्त्री अधिकारीको यात्रा विकट र हिमाली जिल्लाका लागि थियो। मौसमसमेत प्रतिकूल थियो। तर त्यसअनुसार कुनै पनि सुरक्षाजन्य सावधानी र प्रतिकूल मौसमसँग जुध्ने व्यवस्थापनमा पनि ख्याल नगरिएको सेनाकै एक अधिकारी बताउँछन्। मन्त्रीले सरकारी कामकाजक लागि जाँदा सरकारी हेलिकोप्टर प्रयोग गर्न सक्थे। मन्त्रालयले यस विषयमा समन्वय गर्न सक्थ्यो। सेनाका हेलिकोप्टर पनि भिआइपी र भिभिआइपीका लागि प्रयोग हुने गरेका छन्। तर अधिकारीको भ्रमणका लागि सेनासँग पर्यटन मन्त्रालयले हेलिकोप्टर नमागेको सैनिक अधिकारीले जानकारी दिए।

 

नेपाली सेनाका प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले भिभिआइपी/भिआइपीलगायत सरकारी पदाधिकारीका लागि माग भएर आएबमोजिम सैनिक हेलिकोप्टर उपलब्ध गराउन सकिने तर मन्त्रीको ताप्लेजुङ भ्रमणमा यसबारे कुनै जानकारी नआएको बताए। ‘मन्त्रीज्यूको भ्रमणका लागि माग भएको अवस्थामा सेनाको हेलिकोप्टर उपलब्ध हुन्थ्यो तर त्यस दिन माग नै गरिएको थिएन,’ ढकालले भने, ‘आवश्यकता र उपलब्धताका आधारमा सेनाको हेलिकोप्टर तैनाथ हुन्छ।’


गृहमन्त्री अध्यक्ष रहेको केन्द्रीय सुरक्षा समितिबाट पारित निर्देशिकाअनुसार सामान्यतया विशिष्ट तथा अति विशिष्ट व्यक्तिले हवाई यात्रा गर्दा सिंगल इन्जिनको जहाज वा हेलिकोप्टर प्रयोग गर्न पाइँदैन। त्यस्तै स्थल मार्गबाट ओहोरदोहोर गर्दा निजी सवारीसाधन प्रयोग गर्न पाइँदैन। त्यसो त राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाज हुँदाहुँदै प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले चीनको राजकीय भ्रमणमा निजी कम्पनी हिमालय एयरलाइन्सको जहाज प्रयोग गरेका थिए। त्यसलाई प्रधानमन्त्रीको निकै अस्वाभाविक कदम भनिएको थियो। यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो।

हेलिकोप्टर दुर्घटना

संम्बधित खबर

विशेष