News

छोराले केटी भगाउँदा आमा प्रहरी खोरमा!

छोराले केटी भगाउँदा आमा प्रहरी खोरमा!

रौतहट । गल्ती छोराले गर्छ, सजाय आमालाई । यस्तै भएको छ, रौतहटको चन्द्रपुर नगरपालिका–१० बलुवामा । छोराले केटी भगाउँदा आमा प्रहरीको खोरमा थुनिनुपरेको छ । जिल्लाको चन्द्रपुर नगरपालिका–१० बलुवा निवासी राजेश पासवानले केटी भगाउँदा उनकी आमा चिन्तादेवी दुई दिन महिला सेल गरुडामा थुनामा बसेकी हुन् । राजेशले सोही गाउँकी अकबर मियाकी छोरी शर्मिला खातुनलाई भगाएको आरोपमा चिन्तादेवी १२ र १३ फागुनमा दुई दिन महिला सेल गरुडाको थुनामा बसेकी हुन् । करिब ११ महिनाअगाडि छोरा राजेशले शर्मिलालाई भगाएको परिवारजनको भनाइ छ । छोरी नाबालिका रहेको भन्दै शर्मिलाका बाबु अकबर मियाले ९ महिनाअगाडि छोरीको खोजतलास गरिदिन भन्दै महिला प्रहरी सेल गरुडामा उजुरी दिएका थिए ।

 

उजुरीका आधारमा चिन्तादेवीलाई थुनामा राखेको महिला सेलका प्रहरी नायब निरीक्षक मेघराज चौरसियाले जानकारी दिए । घरमै रहेका छोराबुहारीलाई पटक–पटक सेलमा हाजिर गराउन आग्रह गर्दा नटेरेपछि थुनामा राखेर सोधपुछ गरेको प्रहरी नायब निरीक्षक चौरसिया बताउँछन् । कानुनअनुसार उमेर पुगेका केटाकेटीले निर्धक्कसँग विवाह गर्न पाउने अधिकार भएको हुँदा केटा र केटी पक्ष महिला सेलमा आएर समस्याको समाधान गर्न प्रहरी नायब निरीक्षक चौरसियाले आग्रह गरे । यता, केटीका बाबु अकबर मियाले छोरी नाबालिका रहेको बताउँदै आए पनि स्थानीयले केटी नाबालिका नरहेको दाबी गर्दै आएका छन् । हाल चन्द्रपुर नगरपालिका–१० र साबिक डुमरिया गाविस–८ को जन्मदर्ता अभिलेखमा शर्मिलाको जन्म मिति सच्याएर शर्मिलाका बाबु अकबरले नाबालिका दाबी गरेको साबिक डुमरिया गाविसका पूर्वअध्यक्ष रामप्रसाद धामीले बताए ।


शर्मिलाको जन्म १० चैत २०५३ मा भएको अभिलेखमा सच्याएर १० चैत २०५९ बनाई जन्मदर्ताको प्रतिलिपि लिएर छोरी शर्मिला नाबालिका भएको अकबरको दाबी रहेको केटा पक्षको भनाइ रहेको छ । २० वर्ष उमेर कटेका जुनसुकै केटाकेटीले पनि विवाह गर्न पाउने मुलुकी ऐनमा उल्लेख भएका कारण निर्धक्कसँग विवाह हुने अधिकारकर्मी जितबहादुर परियारले जानकारी दिए । वडाध्यक्ष जयराम चौधरीले सत्यतथ्य बाहिर ल्याएर समस्याको समाधान गर्न आफू प्रतिबद्ध रहेको बताए । यो समाचार राजधानी दैनिकबाट लिइएको हो ।

रौतहट प्रहरी खोर

विशेष