छब्बीस विद्यार्थीले एसइई दिन नपाउने
गलकोट। यस वर्ष वागलुङबाट २६ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन नपाउने भएका छन् ।
शिक्षा विकास तथा समन्वय एकाइका अनुसार ७५ प्रतिशत हाजिर नपुगेका कारण उनीहरु परीक्षामा सामेल हुन नपाएका हुन् । एकाइ प्रमुख कुस्मराज उपाध्यायले पढ्दै गर्दा विवाह गरेका, आर्थिक अवस्था कमजोर भएर विद्यालय जान नपाएका तथा बीचमै विद्यालय छोडेर मजदूरीमा लागेर विद्यार्थीको हाजिर नपुगेको बताए ।
उनका अनुसार यस वर्ष वागलुङमा पाँच हजार ५ सय २२ विद्यार्थीले एसइई परीक्षा दिँदैछन् । तीमध्ये २ हजार ६ सय ४७ छात्र र २ हजार ८ सय ७५ छात्रा रहेको उनले बताए । वागलुङका ६ विद्यालयका १ सय ६८ प्राविधिकतर्फ र १ सय २० ग्रेड वृद्धितर्फका विद्यार्थीले समेत (एसइई) दिने बताइएको छ । जिल्लाका १ सय ४० विद्यालयका विद्यार्थीले ३१ परीक्षा केन्द्रमार्फत परीक्षा दिँदैछन् । परीक्षामा जनताधन मावि एक दृष्टिविहीन विद्यार्थीले परीक्षा दिन लागेको बताइएको छ ।