News

नयाँ कानुन कार्यान्वयनः अपहरणपछि बालक हत्या गर्नेलाई आजीवन कैद 

नयाँ कानुन कार्यान्वयनः अपहरणपछि बालक हत्या गर्नेलाई आजीवन कैद 

काठमाडौं । गोङ्गबुमा ८ वर्षीय बालक प्रयास कुँवरको अपहरणपछि हत्या गरेको कसुरमा काठमाडौं जिल्ला अदालतले कसुरदारलाई आजीवन कैदको सजाय सुनाएको छ । बालककै बाबुले सञ्चालन गरेको गेस्ट हाउसका सवारी चालकसमेत रहेका महेन्द्र (एस) सार्कीलाई अदालतले आजीवन कैदको सजाय सुनाएको हो। अपहरणपछि हत्याको कसुरमा आजीवन कैद सजाय सुनाइएको अपराध संहिता लागू भएपछि सम्भवतः यो पहिलो घटना हो। 

 

यसअघि कास्की जिल्ला अदालतले बलात्कारपछि हत्याको घटनामा कसुरदारलाई आजीवन कैदको सजाय सुनाएको थियो। आजीवन कैदको सजायअनुसार व्यक्ति जीवित रहेसम्म कैदमै बस्नुपर्नेछ। फौजदारी संहिताको दफा ४१ बमोजिम आजीवन कैदको सजाय सुनाइएका कसुरदार जीवित रहेसम्म कैदमा रहनुपर्नेछ। सार्कीलाई प्रयासको अपहरण गरी ज्यान मारेको अभियोगमा संहिताको दफा ४१ ९ग० बमोजिम आजीवन कैदको सजाय सुनाइएको हो। जिल्ला अदालत काठमाडौंका न्यायाधीश भरत लम्सालले गत बुधबार सार्कीलाई आजीवन कैदको सजाय हुने आदेश गर्नुभएको हो।

 

न्यायाधीश लम्सालकै इजलासले फागुन ७ गते प्रयासको हत्यामा सार्कीलाई दोषी ठहर गरेको थियो। दोषी ठहर भएको एक महिनाभित्र सजाय निर्धारण गर्नुपर्ने फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको व्यवस्था अनुसार फागुन २९ गते सार्कीलाई आजीवन कैद सजाय सुनाइएको हो। पुस ८ गते सार्कीविरुद्ध मुद्दा दर्ता भएको थियो। काठमाडौँ जिल्ला अदालतका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले बालक प्रयासको हत्यामा संलग्न चालकलाई आजीवन कैदको सजाय सुनाइएको बताए। यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो ।
 

आजीवन कैद जिल्ला अदालत

विशेष