News

मध्य तराईमा सक्रियता बढाउँदै पूर्वराजा शाह

मध्य तराईमा सक्रियता बढाउँदै पूर्वराजा शाह

काठमाडौं । दमकस्थित आफ्नो स्वामित्वमा रहेको हिमालयन टि गार्डेनमा बस्दै आएका पूर्वराज्ञा ज्ञानेन्द्र शाहको मध्य तराईको भ्रमण फागुन २२ गतेबाट सुरु हुने भएको छ।

 

देश दौडाहाको क्रममा उनको पहिलो भ्रमण धनुषाको जनकपुरबाट हुने भएको छ। राप्रपा नेपालले हिन्दु राज्य र राजतन्त्रको माग गर्दै मेची महाकाली यात्रा तय गरेसँगै ज्ञानेन्द्रले पनि आफ्नो यात्रा सुरु गर्न लागेका हुन्।

 

उनी केहीदिन जनकपुर बसेर सोही होटलबाट मध्य तराईको यात्रा तय गर्न लागेका हुन्। स्रोतका अनुसार २२ गते जनकपुर पुगेर राजनीतिक भेटघाट गर्ने त्यसको भोलि पल्ट २३ गते सिराहा भ्रमण गर्ने कार्यक्रम तय भएको छ। उनको सबै भ्रमण धार्मिक मठमन्दीर दर्शन गर्ने रहेको छ।

 

पहिलो भ्रमण जनकपुर

 

धार्मिक भ्रमणसँगै उनले विभिन्न स्थानमा आयोजना गरिने कार्यक्रममा सहभागि हुने कार्यक्रम रहेको स्रोतले जनाएको छ। स्रोतका अनुसार उनले सडक मार्गबाटै विभिन्न जिल्लाको भ्रमण गर्ने कार्यक्रम तय भएको छ। २३ गते सिराहा पुगेपछि २४ गते पुनः जनकपुर बस्ने कार्यक्रम तय भएको छ। २५ गते उदयपुर पुगेर विभिन्न धार्मिक कार्यक्रममा सरिक भएपछि २६ गते सप्तरीको राजविराज जाने कार्यक्रम रहेको छ। सोही दिन दमक पुगेर थप कार्यक्रम तय हुने स्रोतले जनाएको छ। ज्ञानेन्द्रको साथमा निजी सचिव सागर तिमल्सिना र निजी सहयोगी सुदन थापा, निजी सुरक्षाकर्मी शसस्त्रका डिएसपी शिव रावतको मात्र सहभागिता रहने भएको छ।

 

पूर्वरानी कोमल काठमाडौं रहेकोले ज्ञानेन्द्र एक्लै भमणमा निस्कन लागेका हुन। उनको सवारीमा कारगेटसहित करिब आधा दर्जन सवारी साधन प्रयोग हुनेछन्।

 

राजावादीले आयोजना गरेको कार्यक्रममा स्थानीयस्तरबाटै स्वागत गरिने कार्यक्रम रहेको छ । पूर्वराजाका संवाद सचिव डा. फणिराज पाठकले हिजो शुक्रबार विज्ञप्ति जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र आउँदो सातादेखि धनुषा, सर्लाही, सप्तरी र उदयपुर गरी चार जिल्लाको भ्रमणका निस्कने जानकारी गराएका छन्। ज्ञानेन्द्रको विभिन्न जिल्ला भ्रमणको तालिका तय गर्न निजी सचिव सागर तिमल्सिना र सुरक्षाकर्मीले सबै जिल्लाको सुरक्षाको अवस्थाबारे जानकारी लिएका छन्।

 

२६ गते दमक पुगेपछि थप कार्यक्रमको तयारी गरिने भएको छ। फागुन महिनाभरी नै पूर्वाञ्चल र मध्य तराईका जिल्लामा करिब एक दर्जन कार्यक्रम तय गरिएको छ।

 

धार्मिक भ्रमणसँगै उनले राजनितिक भेटघाट गर्ने स्रोतले जनाएको छ। तराई भ्रमण सकेर दमक पुगेलगत्तै ज्ञानेन्द्रले राजनीतिक भेटघाट गर्ने भएका हुन्। को–कोसँग भेट गर्ने भन्ने विषयमा टुंगो नलागे पनि राप्रपा नेपाल लगायत मधेशवादी दलका विभिन्न तहका नेतासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। ‘पहिलो भ्रमण गरेर स्थानीय जनताको चहाना बुझेपछि ती जिल्लाका विभिन्न तहका नेता तथा कार्यकर्तासं भेट गर्ने कार्यक्रम रहेको’ छ–स्रोतले भन्यो।

 

माघ १३ गतेदेखि दमक बस्दै आएका ज्ञानेन्द्र करिब एक महिनापछि जिल्ला दौडाहामा निस्कन लागेका हुन्। अघिल्लो वर्ष दमक पुग्दा तीनवटै राप्रपाका तेस्रो तहका नेतासँग भेट गरी हिन्दुधर्म र राजसंस्थाप्रति लगाव भएका राजनीतिक दल एकढिक्का भएर हिन्दुराज्यको पक्षमा लाग्न सल्लाह दिएका थिए।

 

करिब अढाई महिना अघि गएको पु्स २ गते पोखरा बसाईको क्रममा ज्ञानेन्द्रले भेट गरेका अधिकांसले हिन्दु धर्म र राजतन्त्रलाई सँगै लैजानुपर्ने विषयमा बहस गरेका थिए।

 

त्यहा अधिकांस नेताले ज्ञानेन्द्रलाई हिन्दुराज्य कायम गर्न सक्रिय हुन सुझाव दिएका समेत दिएका थिए। पोखरामा राप्रपा नेपालका अध्यक्ष कमल थापा, पूर्वमन्त्रीलगायत केही राजावादीसँग भेट गरेका थिए। विशेषगरी राप्रपा नेपाल र राजावादीहरुको सल्लाहअनुसार ज्ञानेन्द्र धार्मिक भ्रमणको नाममा राजनीतिक भेटघाट गर्न लागेका हुन्। यो खबर आजको नेपाल समाचारपत्रबाट लिइएको हो।

ज्ञानेन्द्र शाह

विशेष