News

काठमाडौंमै बोक्सी आरोपमा महिलालाई तातो पन्युँले डामियो

काठमाडौंमै बोक्सी आरोपमा महिलालाई तातो पन्युँले डामियो

काठमाडौं । बोक्सी आरोपमा राजधानीमै एक महिलामाथि निर्घात कुटपिट भएको घटना सार्वजनिक भएको छ। आफूलाई बोक्सीको आरोपमा यातना दिएको भन्दै दोलखा स्थायी घर भई भीमसेनस्थान बस्ने रश्मी उपरकोटीले प्रहरीमा उजुरी गरेपछि राजधानीमै बोक्सी आरोपमा महिलामाथि कुटपिट भएको घटना बाहिरिएको हो। गत बुधबार राजधानीको भीमसेनस्थानबाट प्रहरीले यातना दिने एक महिलालाई पक्राउ गरेर मुद्दासमेत चलाइसकेको छ । पक्राउ पर्नेमा मोरङ घर भई भीमसेनस्थान बस्दै आएकी कविता श्रेष्ठ हुन्। उनले आफूलाई माता बताउँदै झारफुक गर्दै आएकी थिइन्।

 

कवितालाई बुधबार भीमसेनस्थानबाट पक्राउ गरेको प्रहरीले बताएको छ। महानगरीय प्रहरी परिसरका प्रमुख वसन्त लामाले बोक्सीको आरोपमा महिलामाथि कुटपिट भएको पीडित महिलाको उजुरीका आधारमा प्रहरीले कुटपिटमा संलग्नलाई पक्राउ गरेको र जिल्ला अदालत काठमाडौंमार्फत मुद्दा चलाएको जनाए। पीडित महिलाले आफूलाई बोक्सी होस् भनेर कुटपिट गरेको र यातना दिएको भन्ने उजुरी दिएपछि कवितालाई बोक्सी मुद्दामा अनुसन्धान गरिरहेको परिसर काठमाडौंले जनाएको छ।

 

आइतबार बेलुका करिब नौ बजे आफ्नो तीनमहिने बच्चालाई सन्चो नभएपछि उनी घरबेटीको सहारामा माताको आश्रममा पुगेकी थिइन्। तर, आफूलाई माता बताउने कवितासहितको समूहले उल्टै रश्मीलाई नै बोक्सी भन्दै राति १ बजेसम्म कुटपिट गरेका थिए । त्यसक्रममा पीडित रश्मीले आफूलाई पन्युँ तताएर पिटेकोसमेत बताइन्। प्रहरीका अनुसार तताएको पन्युँले डामेर घाइते भएकी रश्मीलाई उपचारका लागि वीर अस्पताल पठाइएको थियो। यो समाचार राजधानी दैनिकबाट लिइएको हो ।

बोक्सी आरोप काठमाडौं तातो पन्युँ

विशेष