रगत खपतको तथ्यांक राख्दैनन् अस्पताल
- प्रशान्त वली
देशभरका अधिकांश सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरूले आफ्नो अस्पतालमा रगत खपतको तथ्यांक नराखेको पाइएको छ ।
अस्पतालहरूले वार्षिक खपत गर्ने रगतको तथ्यांक राख्नुपर्ने भएपनि अधिकांश अस्पतालले नराखेको पाइएको छ । यो लापर्वाहीले बिरामीको शरीरमा रगत नमिलेका कारण कतिको अकालमा मृत्यु भयो भन्ने कुनै जानकारी छैन ।
अनावश्यक रगत चढाउँदा अकालमै बिरामीको ज्यान जाने गरेको तथ्य बाहिर आए पनि देशभरका अधिकांश अस्पतालहरूले रक्त सुपरीवेक्षण ‘हेमोभेजिलेन्स’ कार्यक्रम अघि बढाउन सकेका छैनन् ।
सुरक्षित रगत संकलन, भण्डारण, परीक्षण, रगत तत्त्वको निर्माणदेखि बिरामीले प्राप्त गर्ने अवस्था ‘हेमोभिलिजेन्स’ हो । जसमा रगतको संकलन, रगत दिने र लिने प्रकृया, उपचारात्मक पद्दति, रक्त भण्डारण ट्रान्सफ्युजन पर्दछन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाअन्तर्गत रहेको रक्तसञ्चार ब्युरोले काठमाडौंका दुई अस्पतालमा रक्त सुपरीवेक्षण गरेको थियो । दुई अस्पतालका एक हजार २ सय रगतको नमूना परीक्षण गरिएको थियो । जसअन्तर्गत १२ वटा नमूनालाई शंकास्पद नमूनाका रूपमा राखेर अध्ययन गरिएको थियो ।
शंकास्पद राखिएकामध्ये एकमा एचआइभी र अर्कोमा भिरिंगी फेला परेको ब्युरोका प्रमुख डा. रेखा मानन्धर बताउँछन् । अन्य १० वटामा भने सामान्य प्रकृतिका ज्वरो आउने, चिलाउने समस्या देखिएको थियो ।
हेमोभिजिलेन्स प्रविधि नहुँदा रक्तदाताले बिरामीका लागि दिएको रगतमा एउटामा एचआइभी र अर्कोमा भिरिंगी भेटिएको पाइएको छ । ललितपुरस्थित नेपाल क्यान्सर अस्पताल हरिसिद्धि, परोकार प्रसूति गृह थापाथली, गंगालाल हृदयरोग निवारण केन्द्र र ओम अस्पतालमा हेमोभिजिलेन्स कार्यक्रम लागू गरिएको थियो ।
तर, गंगालाल हृदयरोग निवारण केन्द्र र ओम अस्पतालले सो कार्यक्रमको प्रतिवेदन नै सार्वजनिक नगरेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।
नेपालकै जेठो अस्पताल वीर, राष्ट्रिय ट्रमा सेन्टरलगायत देशभरका अधिकांश सरकारी अस्पताल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला अन्तर्गत ‘हेमोभेजिलेन्स’ कार्यक्रममा दर्ता नभएको पाइएको छ ।
अधिकांश अस्पतालहरूमा प्रतिदिन कति मात्रामा रगत लगिन्छ, कति प्रयोग गरिन्छ, कुन वार्डमा प्रयोग गरिन्छ भन्ने कुनै रेकर्ड नै नरहेको पूर्व निर्देशक डा. गीता शाक्य बताउँछिन् ।
देशभरका एक सय ६ वटा स्थानमा ब्लड बैंकहरू दर्ता भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. हरिश्चन्द्र उप्रेतीले बताए । उनले भने, ‘हेमोभेजिलेन्सको अवधारणा केही समयअघिबाट मात्रै सुरु भएको हो । अब विस्तारै व्यापक हुन्छ । हामीले सहभागिताका लागि सार्वजनिक सूचनासमेत जारी गरेका छौँ ।’
यस्तै, रक्त सुपरीवेक्षण नहुँदा अनावश्यक रगत चढ्ने रक्तसञ्चार विशेषज्ञ डा. विपीन नेपालले बताए । जसकारण एउटा रगत चढ्नुपर्नेमा अर्कै रगत चढिरहेको घटना बाहिर आउने गरेको डा. नेपालले बताए ।
केही दिनअघि प्रयोगशालाले सार्वजनिक सूचना जारी गरी इच्छुक अस्पताललाई हेमोभिजिलेन्स कार्यक्रममा समावेश हुन अनुरोध गरेको थियो ।
रक्त सञ्चार केन्द्रबाट लिएको रगतको उपयोग भए–नभएको बारेमा तथ्यांक राखिनुपर्ने नेपाल ल्यावोरेटरी एशोसिएसनका अध्यक्ष राजेन्द्र खड्काले बताए । उनले भने, ‘रक्तदाताहरूले आफूले दिएको रगत प्रयोग भयो या भएन जानकारी नै हुँदैन । कमसेकम रगतको उपयोगिताको बारेमा जानकारी पाउनु उनीहरूको मानवअधिकार पनि हो ।’
यी सबै सामग्रीहरू पब्लिक न्युज एजेन्सी (www.publicnewsagency.com)बाट साभार गरिएको हो। तपाईंहरूले पनि आफूलाई आवश्यक पर्ने सामग्रीहरू पब्लिक न्युज एजेन्सीमा निःशुल्क खाता खोलेर साभार गर्न सक्नुहुने छ। साथै पब्लिक न्युज एजेन्सीका लागि समाचार सामग्री र विभिन्न संघसंस्थाका प्रेस विज्ञप्ति पनि सम्प्रेषण गर्न सक्नुहुने छ।
वीर अस्पताल ट्रमा सेन्टर रगतको तथ्यांक